काठमाडौं। अर्थशास्त्र विधामा दिइने प्रतिष्ठित नोबेल स्मारक पुरस्कारका विजेता वा विजेताको घोषणा गर्ने तयारी हुँदै छ।याेसँगै यस वर्षको नोबेल पुरस्कार सिजनको अन्तिम अध्याय सकिँदै छ।
यो पुरस्कार १९औं शताब्दीका महान् आविष्कारक, व्यापारी तथा रसायनशास्त्री अल्फ्रेड नोबेलको स्मृतिमा सुरु गरिएको थियो। नोबेलले डाइनामाइटको आविष्कार गरेर पाँच वटा प्रमुख नोबेल पुरस्कारको परम्परा सुरु गरेका थिए।
औपचारिक रूपमा ‘अल्फ्रेड नोबेलको सम्झनामा आर्थिक विज्ञानमा बैंक अफ स्वीडेन पुरस्कार’ भनेर चिनिने अर्थशास्त्र पुरस्कार सन् १९६८ मा स्वीडेनको केन्द्रीय बैंकले स्थापना गरेको हो।
यस वर्षको घोषणाअघिसम्म यो पुरस्कार ५६ पटक वितरण भइसकेको छ। यसअन्तर्गत ९६ जना विजेताले सम्मान पाइसकेका छन् । तीमध्ये अहिलेसम्म केवल तीन जना महिला विजेता रहेका छन्। यसले अर्थशास्त्रमा महिलाको प्रतिनिधित्व अझै पनि न्यून रहेको तथ्य उजागर गर्दछ।
गत वर्ष यो प्रतिष्ठित पुरस्कार अर्थशास्त्रीत्रय डारोन एसेमोग्लु, साइमन जोनसन र जेम्स ए. रोबिन्सनलाई दिइएको थियो।
उनीहरूले आफ्ना अनुसन्धानमार्फत किन केही देश समृद्ध र अन्य देशहरू गरिब रहन्छन् भन्ने प्रश्नमा गहिरो अध्ययन गरेका थिए। उनीहरूको निष्कर्षअनुसार स्वतन्त्र र खुला समाजले दीर्घकालीन रूपमा आर्थिक समृद्धि हासिल गर्ने सम्भावना बढी हुन्छ भन्ने प्रमाणित भएको थियो।
नोबेल शुद्धतावादीको भनाइमा अर्थशास्त्र पुरस्कार ‘प्राविधिक रूपमा नोबेल पुरस्कार होइन’, किनभने यो नोबेल स्वयंले स्थापित गरेकाे पाँच पुरस्कारमध्ये पर्दैन। तथापि, यसको प्रतिष्ठा र ऐतिहासिक मूल्य अरू पुरस्कारसरह नै उच्च मानिन्छ।
गत साता चिकित्सा, भौतिक विज्ञान, रसायन विज्ञान, साहित्य र शान्तिका नोबेल पुरस्कारका विजेता घोषणा भइसकेका छन्।-एजेन्सी