इलाम। मेची राजमार्गको विकल्पका रुपमा रहेको तिल्केनी–सिमलगोलाई सडक खण्ड आजदेखि सञ्चालनमा आउने भएको छ।
सडक खण्डअन्तर्गत माइजोगमाई गाउँपालिका–४ नामसालिङ र इलाम नगरपालिका–१० गोदक जोड्ने जोगमाई खोलामा डाइभर्सन निर्माण भएपछि यातायात सञ्चालनमा आउने भएको सडक डिभिजन इलामका प्रमुख पवन भट्टराईले बताए।
‘जोगमाई खोलामा हाइड्रोपावरको टेलरेस्ट र ह्युमपाइप बिच्छयाउने काम सकेर त्यहाँ बाटो निर्माण गर्ने काम भइरहेको छ’, उनले भने, ‘आजदेखि यो सडकमा साना खाले सवारी साधन सञ्चालन गर्ने तयारीमा छौं।’
उनका अनुसार जोगमाई खोलामा आठवटा ह्युमपाइप र हाइड्रोपावरको टेलरेस्ट तीन टुक्रा खोलामा बिच्छ्याएर पानी कटाइएको छ। डाइभर्सन निर्माणका लागि चारवटा एक्जाभेटर परिचालन गरिएको थियो।
मेची राजमार्गअन्तर्गत इलाम नगरपालिका–९ स्थित इलाम–राजदुवाली सडक अवरुद्ध भएपछि विकल्पमा तिल्केनी–सिमलगोलाई सडक खण्ड सञ्चालन गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले बताइन्। जोगमाई खोलाको बेलीब्रिज गत असोज १८ को बाढीले बगाएपछि डाइभर्सन निर्माण गरिएको हो।
११ दिनमा समेत वैकल्पिक सडक सञ्चालन गर्न नसक्दा यात्रु र यातायात व्यवसायीलाई सास्ती परेको छ।सदरमुकामको तिल्केनीबाट मेची राजमार्गको गोदक जोड्ने १२ किलोमिटरको यो वैकल्पिक सडक तत्कालका लागि प्रमुख विकल्प मानिएको छ।
आइतबारदेखि तिल्केनी–बज्रदेवी–नामसालिङ–नयाँबजार–फिक्कल सडकमार्फत साना सवारी साधन सञ्चालनमा आएका छन्। ठूला तथा मालवाहक सवारीका लागि भने उपयुक्त वैकल्पिक मार्ग पहिचान गर्न नसकिएको प्रजिअ नेपालले बताइन्।
तीव्र मोड र साँघुरोपनाका कारण ठूला सवारी सञ्चालन गर्न कठिनाइ भएको उनको भनाइ छ। वर्षासँगै आएको पहिरो झरेपछि विगत ११ दिनदेखि इलाम जिल्ला छिमेकी झापासँग सडक सञ्जालबाट विच्छेद छ।
इलाम–राजदुवाली सडक खण्ड अवरुद्ध भएपछि झापा, इलाम, पाँचथर र ताप्लेजुङका यात्रु र सवारी आवतजावतमा समस्या देखिएको छ। जटिल भू–संरचनाका कारण सो सडक तत्कालन खुलाउन नसकिने भएको सडक डिभिजन प्रमुख भट्टराईले बताए।–रासस