काठमाडौं। गत भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनमा भएको क्षतिको विवरणबारे नेपाली सेनाले जानकारी दिएको छ। शुक्रबार सेनाले पत्रकार सम्मेलन गरी जेनजी आन्दोलनमा कूल एक हजार ५८० वटा भौतिक सम्पत्तिमा क्षतिको विवरणको जानकारी दिएको हो।
सेनाले दिएको जानकारीअनुसार जेनजी आन्दोलनमा देशभर ६८८ सरकारी कार्यालयमा तोडफोडसँगै आगजती भएको छ। यसैगरी, ३०७ वटा प्रहरी कार्यालयमा तोडफोड र आगजनी भएको सेनाले जनाको छ। सम्मेलनमा सेनाले दिएको जानकारीअनुासर २५९ जना नेता तथा व्यक्तिगत निवास, १२८ व्यापारिक प्रतिष्ठानमा तोडफोड र आगजनी हुँदा विभिन्न १९८ वटा राजनीति दलको कार्यालय ध्वस्त भएका छन्।
आन्दोलनमा प्रदर्शनकारीले देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार, राष्ट्रपतिको कार्यालय, सर्वोच्च अदालत, प्रधानमन्त्रीको सरकारी निवास बालुवाटरसहित जिल्ला अदालतहरूमा तोडफोडपछि आगजनी भएको थियो।
यस्तै, व्यापारिक प्रतिष्ठानतर्फ हिल्टन होटल, चौधरी ग्रुपको सिजी पार्क, हायात होटल, भाटभटेनीको १२ सुपरमार्केट, टाटासहित विभिन्न गाडीको स्वरूममा तोडफोडपछि आगजनी भएको थियो।
आन्दोलनमा कांग्रेसका सभापति देउवा दम्पत्तीमाथि कुटपिटसँगै आक्रमण हुँदा सेनालाई उद्धार गर्न कठिन भएको थियो।
यसैगरी, निजी निवासतर्फ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, तत्कालीन प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ तत्कालीन मन्त्रीहरूका निवाससहित ठूला व्यापारिक घरानाका निवासमा आगजनी भएको थियो।
यसबाहेक आन्दोलनमा हजारौँ संख्यामा रहेका सरकारी सवारी साधनमा आगलागी तथा तोडफोड भएको थियो।
आन्दोलनमा कांग्रेसका सभापति देउवा दम्पत्तीमाथि कुटपिटसँगै आक्रमण हुँदा सेनालाई उद्धार गर्न कठिन भएको थियो। उनीहरूसँगै आन्दोलनमा कठिन अवस्थामा भएका ६१ जना भीआईपी तथा तिनका परिवारको हेलिकप्टरबाट उद्धार गरिएको सेनाले जनाएको छ।
यस्तै २३ जना प्रहरीलाई पनि सेनाले उद्धार गरी सुरक्षित स्थानमा लगिएको थियो। विभिन्न ढंगले फसेका थप १२९ जनालाई जमिनबाट सुरक्षित उद्धार गरिएको थियो। सेनाले २४ गते रातिबाट ६ देखि ८ घण्टामा स्थिति नियन्त्रणमा लिएर आन्दोलन नियन्त्रणमा लिएको थियो।