काठमाडौं।अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सिंगापुरका राष्ट्रपति थरमन शानमुगार्थमसँग भेटवार्ता गरेका छन्।
विश्व बैंक समूहको वार्षिक बैठकमा भाग लिन अमेरिका रहेका खनालले वासिङ्टन डिसीमा ‘साइडलाइन’ बैठकमा राष्ट्रपति थरमनसँग भेट गरेको अर्थ मन्त्रालयले जनाएको हो।
भेट अवसरमा मन्त्री खनालले नेपालमा भएको राजनीतिक विकासक्रम र आर्थिक प्राथमिकताको विषयमा छलफल भएको बताए। भेटमा राष्ट्रपति थरमनले दु्रत गतिको आर्थिक समृद्धि हासिल गर्न पाँच मुख्य कुरामा ध्यान दिन आग्रह गरेका थिए।
राष्ट्रपति थरमनले मानव पुँजी, पूर्वाधार, ऊर्जा, व्यापार र खुलापनमार्फत द्रुत गतिको विकास हासिल गर्न सकिने विषयमा जोड दिएका थिए।
अर्थमन्त्रीद्वारा आईएफसी प्रतिनिधिसँग छलफल
अर्थमन्त्री खनालले अन्तरराष्ट्रिय वित्त निगम (आईएफसी)का कार्यवाहक क्षेत्रीय उपाध्यक्ष एलेन फरलेमुसँग भेटवार्ता गरेका छन्।
भेटवार्ता अवसरमा आईएफसीसँगको साझेदारी, नेपालको निजी क्षेत्रको वृद्धिका लागि सहयोगलगायतका विविध आर्थिक विषयमा छलफल भएको अमेरिकास्थित नेपाली राजदूतावासले जनाएको छ।
भेट अवसरमा राष्ट्र बैंकका गभर्नर डा विश्वनाथ पौडेल, दूतावासका प्रतिनिधि, अर्थ मन्त्रालयका अधिकारी र आइएफसीका प्रतिनिधिको सहभागिता थियो।