काठमाडौं। सडक र पुल निर्माणका लागि ठेक्का सम्झौता गरी काम नगरेर वर्षौंसम्म अलपत्र भएका थप ५० रुग्ण ठेक्का तोड्ने प्रक्रिया सुरु भएको छ।
सडक विभागअन्तर्गत पुष्पलाल (मध्यपहाडी) राजमार्ग, संघीय सडक सुपरीवेक्षण तथा अनुगमन कार्यालय काठमाडौं, इटहरी, पोखरा, सुर्खेत, जनकपुर, दमौली लगायतका कार्यालयले रुग्ण अवस्थामा रहेका ५० वटा ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाएका छन्।
यसअघि शुक्रबार १७ र शनिबार एउटा रुग्ण ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको थियो। सडक डिभिजन कार्यालय जनकपुरले सबैभन्दा धेरै २१ वटा ठेक्का किन तोड्ने भन्दै सूचना सार्वजनिक गरेको छ।
यसैगरी काठमाडौंले सात, ओखलढुङ्गा तथा अछाम डिभिजनले पाँच पाँच, दमौली र पाल्पाले चाररचार वटा ठेक्का किन तोड्ने भन्दै सूचना जारी गरेका छन्।
ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र शहरी विकास मन्त्री कुलमान घिसिङले ठेक्का लिने तर काम नगर्ने र आयोजना अलपत्र पार्ने प्रवृत्ति अन्त्यका लागि रुग्ण ठेक्का तोड्न मातहतका निकायलाई निर्देशन दिएका थिए। सडकअन्तर्गत २५८ ठेक्का रुग्ण छन्।