काठमाडौं। तिहारअन्तर्गतको महत्वपूर्ण दिन धनतेरसमा यसवर्ष सुनचाँदीको कारोबारले नयाँ उत्साह थपेको छ। शुभ मानिने यो दिनमा नेपालीले करिब डेढ अर्ब रुपैयाँभन्दा बढीको सुनचाँदी खरिद गरेका हुन्।
विशेषगरी सुनको मागमा तीव्र उछाल आएर तोलामै २ लाख ५० हजारमाथि पुग्दा पनि एकैदिन ५० केजी सुन बिक्री भएको छ, जसबाट करिब १ अर्ब ८ करोड ५० लाख रुपैयाँभन्दा बढीको कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ।
गत वर्षको तुलनामा यसवर्ष सुनचाँदीको व्यापारमा समग्रमा ३० प्रतिशत हाराहारीमा वृद्धि भएको महासंघका वरिष्ठ उपाध्यक्ष दियशरत्न शाक्यले जानकारी दिए। गत वर्षको तुलनामा सुनको कारोबार वृद्धि नभए पनि चाँदीको मूल्य महंगो हुँदैछ भन्ने प्रभावले व्यापार बढेको महासंघका उपाध्यक्ष शाक्यको तर्क छ।
‘यस पटक सुन एक अर्ब ८ करोड ५० लाख रुपैयाँभन्दा बढी ५० केजी सुन बिक्री भयो, गत वर्ष पनि करिब ५० केजी सुन नै बिक्री भएको थियो,’ उपाध्यक्ष शाक्यले क्यापिटल नेपालसँग भने, ‘गत वर्षको भन्दा सुनचाँदीको व्यापार यय पटक ३० प्रतिशत हाराहारीमा व्यापार बढेको छ, चाँदी महंगो हुँदैछ भन्ने प्रभाव पर्दा व्यापार बढेको हो।’
चाँदीको मूल्य थप बढ्ने आशंकामा ग्राहकले धेरै अर्डर गर्दा व्यवसायीहरुलाई अर्डर पुर्याउन बजार मूल्यभन्दा बढीमा खरिद गर्नुपरेको उनको भनाइ छ।
‘बि–२–बिमा भने महासंघले तोकेको मूल्यभन्दा चाँदी २/३ सय रुपैयाँ बढीमा खरिदबिक्री भएको सुनिएको छ, ग्राहकले मूल्य बढ्छ भनेर बढी अर्डर गर्दा पुरानै अर्डर पुर्याउन व्यवसायीले एक अर्कोसँग बढी चाँदी किन्नु परेको हो,’–उनले भने। उनका अनुसार सुरुमा चाँदी खरिद गरेर ग्राहकलाई ज्याला र जर्ति (नोक्सानी) मा समायोजन गरी मूल्य मिलाइन्छ।
धनतेरसको महत्व र कारोबारको अवस्था
धनतेरस पर्वलाई धन त्रयोदशी पनि भनिन्छ, जुन कार्तिक कृष्ण त्रयोदशीको दिन पर्छ। यस दिनमा गरिने किनमेललाई शुभ र समृद्धिदायक मानिन्छ। मान्यताअनुसार यस दिन धनका देवता कुबेर र स्वास्थ्यका देवता धनवन्तरीको पूजा गरिन्छ।
यस दिन विशेषगरी सुनचाँदी, भाँडाकुँडा, नयाँ सवारीसाधन र अन्य बहुमूल्य वस्तुहरू खरिद गर्ने चलन छ। यीमध्ये सुनचाँदीलाई धनतेरसमा खरिद गर्न अति उत्तम मानिन्छ, किनकि धातुको खरिदले घरमा लक्ष्मीको वास गराउँछ भन्ने धार्मिक विश्वास छ। सुनचाँदीलाई सङ्कटकालीन सम्पत्ति र उत्कृष्ट लगानीका रूपमा लिइने भएकाले पनि नेपालीहरूले यो दिनलाई अवसरको रूपमा लिने गर्छन्।
महासंघका वरिष्ठ उपाध्यक्ष शाक्यका अनुसार यस पटकको धनतेरसमा ५० केजी बिक्री हुनुका साथै करिब १३ सय केजी चाँदी पनि बिक्री भएको छ। चाँदीको कारोबारबाट ३६ करोड ५० लाख रुपैयाँ हाराहारीको कारोबार भएको उनको अनुमान छ। गत वर्ष पनि करिब ५० केजी सुन बिक्री भएको थियो भने चाँदीको कारोबार करिब एक हजार केजी मात्र थियो। यस्तै, नेपाल राष्ट्र बैंकले पनि १० ग्राम चाँदीको मेडालिन धनतेरस लक्षित गरेर सर्वसाधारणमा बिक्री गरेको थियो। ३२ सय रुपैयाँ मुल्य तोकिएको १० ग्रामका मेडालिन ४१ हजार बटा बिक्री भएको राष्ट्र बैंकले जानकारी दिएको छ।
घट्दो क्रयशक्ति र नयाँ चुनौती
उपाध्यक्ष शाक्यका अनुसार सुनको मूल्य वृद्धि हुँदा ग्राहकको क्रयशक्तिमा भने कमी आएको छ। उनी भन्छन् ‘पहिले ४ तोलासम्म किन्नेले अहिले एक–डेढ तोलासम्म किन्न थालेका छन्।’
विवाहको लगनका लागि पनि पहिले मध्यम वर्गले ७ देखि १० तोलासम्म खरिद गर्नेमा अहिले ४ तोलादेखि ७ तोलासम्म मात्र खरिद गर्ने गरेका छन्। राष्ट्र बैंकले साधारण ग्राहकले ढिक्का सुन खरिद गर्न नपाउने नियम लागू गरेको छ।
यस्तै, व्यवसाय गर्नेले सुनचाँदी व्यवसायको प्यान दर्ता गर्नुपर्छ। त्यसको विवरण व्यवसायीले राष्ट्र बैंकमा हरेक दिन बुझाउनुपर्छ। त्यसैले बजारमा बिक्री भएका सुन सबै साधारण ग्राहकले मात्रै खरिद गरेको शाक्यको भनाइ छ। चाडपर्व पछिका केही दिन बजार सुस्त भए पनि मंसिर महिनामा विवाहको लगन सुरु हुने भएकाले त्यतिबेला पनि व्यापार राम्रो हुनेमा व्यवसायीहरू आशावादी छन्।