काठमाडौं। नेपाल विद्युत् प्राधिकरणले लक्ष्मीपूजा (सोमबार) साँझ देशभर कुल विद्युत् माग १६५० मेगावाट बराबर रहेको जनाएको छ। यस्तै, लक्ष्मीपूजाको दिन १०१५ मेगावाट बिजुली निर्यात भएको छ।
प्राधिकरणका अनुसार गत वर्ष लक्ष्मीपूजाको दिन देशभरको कुल विद्युत् माग १६०२ मेगावाट थियो। गत वर्षभन्दा यस वर्ष लक्ष्मीपूजा साँझ कुल बिजुली माग ४८ मेगावाट बढी भएको हो।
प्राधिकरणले भारत र बंगलादेशमा बिजुली निर्यात गर्दै आएको छ।
तिहारलाई बत्ती, उज्यालो र फूलको पर्वका रूपमा लिइन्छ। घरघरमा दिपावली गर्ने र बत्ती जलाउने, घर उज्यालो बनाउने, फूलले सजाउने यो पर्वको विशेषता र मौलिकता हो। सोही कारण लक्ष्मीपूजा बेला अन्य दिनभन्दा बढी बिजुली खपत हुने गर्छ।
भारप्रेषण केन्द्रबाट विद्युत् आपूर्तिबारे जानकारी
ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री कुलमान घिसिङसहितको टोलीले लक्ष्मीपूजाको दिन विद्युत् माग र आपूर्ति व्यवस्थापनको जानकारी लिएको छ।
सोमबार मध्यराती विद्युत प्राधिकरणको स्युचाटारस्थित प्रेषण केन्द्रको नियन्त्रण कक्षको भ्रमण गरी समग्र देशभरको विद्युत् आपूर्तिबारेमा जानकारी लिई आवश्यक निर्देशन दिएको ऊर्जामन्त्री घिसिङको सचिवालयले जनाएको छ।
ऊर्जा, जलस्रोत मन्त्रालयका सचिव चिरञ्जीवी चटौत, विद्युत् नियमन आयोग अध्यक्ष रामप्रसाद धिताल, मन्त्रालयका सहसचिव, विद्युत् विकास विभागका महानिर्देशन, प्राधिकरणका कार्यकारी निर्देशक, उपकार्यकारी निर्देशकलगायत टोली विद्युत् र आपूर्ति अवस्थाबारे जानकारी लिएको थियो।
विगत वर्षमा झैं यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर बिनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल भएको छ। प्राधिकरणले लक्ष्मीपूजाको दिन विद्युत् अवरोध हुन नदिन मुलुकभर रहेका वितरण केन्द्र, विद्युत् गृहका प्रमुख र त्यहाँ रहेका प्राविधिक कर्मचारीलाई तयारी अवस्थामा राखेको थियो।