उज्यालो र फूलैफूलको पर्व मानिने तिहारमा दाजुभाइलाई टीका लगाएर दिदीबहिनीले टपरीभरि सेल, अनरसा, फिनी, मिठाईलगायतका विविध परिकार पस्किन्छन्। स्वस्थ ज्यान भएकालाई तिहारको चिल्लोले नसताए पनि गुलिया र चिल्ला रोटी खानासाथ बिरामी पर्नेले भने स्वास्थ्यप्रति ध्यान दिनैपर्छ। अझ पेट, ग्यास्ट्रिक, सुगरलगायत बाह्रैमासे बिरामी हुनेलाई तिहारमा दिदीबहिनीले दिएको उपहार खाँदा झनै थलिने सम्भावना हुन्छ।
तिहारमा गुलिया र चिल्ला परिकार खाने गरिन्छ, जुन स्वास्थ्यसँग प्रत्यक्ष जोडिएको हुन्छ। तर, होस् नपुर्याउँदा यसले अनगन्ती रोग निम्त्याउँछ। स्वास्थ्यमा प्रतिकूल असर नपर्ने गरी तिहारमा दिदीबहिनीले दिएका खानेकुरा सेवन गर्नु बुद्धिमानी ठहर्छ। यी हुन् स्वस्थ रहने उपायः
फलफूलः तिहार भन्नेबित्तिकै गुलियो परिकार खाने चलन छ। तर, स्वस्थ खानाका लागि पेट र ग्यास्ट्रिक बिरामीले चिल्लो मिसाइएका चकलेट तथा मिठाईको सट्टा सकभर फलफूल रोज्नुस्। गुलियो खानैपर्ने भए न्यून क्यालोरियुक्त चकलेट छनोट गर्नुस्। सकभर घरमै बनाएको चकलेट खानुस्।
पानी सेवन निरन्तरः चारैतिर खानेकुरा र गुलिया परिकार देख्दा कसको जिब्रो रसाउँदैन? तसर्थ तिहारमा अन्य बेलाभन्दा बढी गुलियो खाइन्छ। चकलेट खाइसकेपछि वा खानुअघि प्रशस्त पानी खानुपर्छ। बिहानदेखि बेलुकासम्म बारम्बार पानीको चुस्की लिनुस्। पानी पिउदा गुलियो परिकारले शरीरभित्र पार्ने असर घटाउँछ र शरीरको विषादीसमेत पखालिदिन्छ।
चकलेटलाई बाइबाईः तिहारका बेला बजारमा कृत्रिम गुलियो मिसाइएका परिकार छ्यापछ्याप्ती पाइन्छन्। तर, यस्ता परिकारबाट सकभर टाढै रहनुस्। कृत्रिम गुलियोले ब्रेन ट्युमरदेखि क्यान्सरसम्म निम्त्याउँछ। चकलेटमा मिसाइएका अखाद्य र मिसावटयुक्त रसायनले किड्नी र दमको समस्या ल्याउँछ, दिमागका कोष बिगारिदिन्छ। तसर्थ, मह चिनी, खुदोजस्ता प्राकृतिक गुलियोबाट बनेका चकलेट सेवन गर्दा असाध्य जाती।
रोगबारे आफैं सचेतः डायबिटिजबाट पीडित मानिसले तिहारको समय विशेष ख्याल गर्नुपर्छ। गुलियो परिकारबाट टाढा रहनुका अतिरिक्त सेल रोटी, अनरसालगायतका खानेकुरामा हुने गुलियोको मात्रा पनि विचार पुर्याउनुपर्छ।
पटकाः तिहार पटकाको समेत पर्व भएकाले पड्काउँदा सावधान नभए जुनसुकै बेला स्वास्थ्यसम्बन्धी गम्भीर समस्य निम्तिन सक्छ। तसर्थ, आँखामा हाल्ने ड्रप्स, पोल्दा लगाउने मल्हम आफूसँगै राख्नुपर्छ। पटकाको ठूलो आवाजले कानको श्रवणशक्तिमा हानि पुग्ने र बहिरो हुने समस्या समेत आउन सक्छ। तसर्थ पटका पड्काइएको स्थानमा घुम्दा कानमा प्लग वा रुई राख्नुपर्छ।
खुवा र दूधबाट बनेको चकलेट सकभर नखानुहोस् किनकि यसले फुड पोइजनिङ गराउन सक्छ। यस्तै, गुलियो खानेकुरा खाँदा थोरै लिएर बस्नुहोस, सकभर ढिलो खाँदा राम्रो।
चिनीको विकल्पको रुपा मह, खुदो प्रयोग गरेको परिकार खाने, फ्याट झिकेको दूधबाट चकलेट बनाउने।
गुलियो खाएपछि सलाद, दही अनिवार्य खाने।
तिहारमा दिदीबहिनीले दाजुभाईलाई उपहारस्वरुप कपडा र गुलिया परिकार दिने प्रचलन छ। गुलिया परिकारको सट्टा फलफूल वा थोरै क्यालोरी भएको चकलेट दिने।
पसलमा अखाद्य र मिसावटयुक्त तथा कम स्वस्थकर परिकार बनाइने हुँदा सकभर घरमै बनाएको खानेकुरा खानु उपयुक्त हुन्छ।