काठमाडौँ । तिहार सुरु भइसकेको छ। देशभरका घरघरमा मखमलीको सुवास र बत्तीको उज्यालोसँगै सेलरोटीको मिठासले माहोल झन् रमाइलो बनाएको छ। चाडपर्वमा अनिवार्य मानिने यो परिकार परम्पराको स्वाद हो। तर आजभोलिका धेरै युवायुवतीहरू सहरको व्यस्तता र विदेशको बसाइका कारण सेलरोटी बनाउने सीप बिस्तारै हराउँदै गएको देखिन्छ।
यही कारण, यो तिहारमा घरघरमै स्वादिलो र फुलिएको सेलरोटी बनाउन कसरी सकिन्छ भन्ने सरल उपाय हामीले यहाँ प्रस्तुत गरेका छौँ ।
यसरी बनाउनुस् सेलरोटी
पहिलो चरणः चामल तयारी
पुरानो र मोटो धानको चामल छानेर सफा गर्नुस् । त्यसपछि एक घण्टासम्म पानीमा भिजाउनुस् । चार किलो चामलमा करिब २०० ग्राम मेथी पनि साथसाथै भिजाउन सकिन्छ।
दोस्रो चरणः पिस्ने प्रक्रिया
भिजेको चामललाई ढिकी, जाँतो, ओखल वा मिलमा पिस्न सकिन्छ । ढिकी वा ओखलमा पिसेको पिठोलाई नाङ्लोको सहायताले मनिसो पिठो छुट्याउनुपर्छ ।
तेस्रो चरणः मुछ्ने तयारी
पिठोमा घ्यू, दही, चिनी र अलिकति सोडा मिसाएर बिस्तारै पानी हाल्दै मुछ्नुस् ।
चौथो चरणः तेल तताउने
रोटी पकाउने तेल वा घ्यू ताइमा हालेर तताउनुस् । तेलमा झ्वाइँय आवाज आयो भने त्यो रोटी हाल्नका लागि तयार भएको बुझ्न सकिन्छ।
पाँचौँ चरणः गोलो बनाउने कौशल
पिठो झिरमा राखेर तातेको तेलमा गोलो आकारमा हाल्नुस् । रोटी गोलो बनाउनको लागि ताइमा दियोलाई उल्टो पारेर त्यसको वरिपरि पिठो हाल्दा सहज हुन्छ ।
छैटौँ चरणः पाकाउने र फर्काउने
रोटी रातो हुँदै गएपछि झिरको सहायताले अर्को पाटो फर्काइदिनुस् । दुवैपट्टि सुनौलो रङ आउँदा झिक्न तयार हुन्छ ।
स्वाद र स्वास्थ्य दुवैका लागि उपयोगी
सेलरोटी बनाउँदा चिनी, घ्यू वा दहीको मात्रा स्वादअनुसार मिलाउन सकिन्छ । मेथीले रोटी फुल्नका साथै सुगन्ध पनि दिन्छ । घरमै बनाएको सेलरोटी बजारको भन्दा गुणस्तरीय, ताजा र स्वास्थ्यबर्धक हुन्छ ।