काठमाडौं। नेपाली बजारमा रियलमी ब्राण्डको स्मार्टफोन बेच्ने जगदम्बा मोबाइलको व्यापार १३ प्रतिशतले घटेको छ। शंकर ग्रुपद्धारा सञ्चालित जगदम्बा मोबाइलको व्यापार सन् २०२४ को तुलनामा सन् २०२५ मा १३.०३ प्रतिशतले घटेको हो।
कम्पनीले सन् २०२४ मा २ अर्ब ६ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो भने सन् २०२५ मा १ अर्ब ७९ करोड ५० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ। कम्पनीले सन् २०२३ मा २ अर्ब ७६ करोड २० लाख र २०२२ मा ३ अर्ब २४ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो।
शंकर ग्रुप द्वारा सन् २०११ जुलाइमा स्थापित यो कम्पनीले रियलमी मोबाइल टेलिकम्युनिकेसन प्रालिको रियलमी स्मार्टफोन र एक्सेसरीजको नन्–एक्सक्लुसिभ अथोराइज्ड डिस्ट्रीबयुटर (गैर–बिशेषीकृत आधिकारिक वितरक) हो। यसका साथै, कम्पनीले स्मार्टफोनसहित सफारी लगेज र बोउल्ट अडियो डिभाइसको व्यापार गर्दै आएको छ। जगदम्बा मोबाइलमा सुलभ अग्रपालको शतप्रतिशत सेयर स्वामित्व छ।
रियलमीले नेपालको स्मार्टफोनको बजारमा ७ प्रतिशत हिस्सा ओगटेको छ। भने नेपालमा सबैभन्दा बढी आयात गरिने ब्रान्डमा पनि रियलमी पाचौं स्थानमा छ। नेपालमा रियलमी ब्रान्डको स्मार्टफोन र एक्सेसरीज बिक्री गर्ने २ आधिकारीक बिक्रेतामध्ये जगदम्बा मोबाइल्स एक हो। जगदम्बाको देशभर ८३ वटा डिलसिप रहेको छ।
जगदम्बा मोबाइलले ९० करोड रुपैयाँ बैंकिङ कर्जा प्रयोजनका लागि रेटिङ एजेन्सी इन्फोमेरिक्समा क्रेडिट रेटिङ गराएको थियो। कम्पनीले गराएको रेटिङमा इन्फोमेरिक्सले जगदम्बा मोबाइललाई अल्पकालीन कर्जाका लागि ‘एफोर’ रेटिङ दिएको छ। यो अघिल्लो रेटिङमा ‘डाउनग्रेड’ गरिएको हो। यसअघि कम्पनीले ‘एफोर प्लस’ रेटिङ प्राप्त गरेको थियो। अल्पकालिन कर्जामा दिइने एफोर प्लस रेटिङले कर्जा जोखिम मध्यम र एफोर रेटिङले कर्जा जोखिम सुरक्षा न्यून रहने संकेत गर्छ।
कम्पनीको आम्दानी घटेको कारणले रेटिङ समेत डाउनग्रेड गरिएको इन्फोमेरिक्सको रेटिङ रिपोटमा उल्लेख छ। ३ वर्षको अवधिमा कम्पनीको आम्दानी करिब ३५ प्रतिशतले घटेको छ। जगदम्बा मोबाइल्सले स्मार्टफोन र एक्सेसरीजको आयात स्रोत परिवर्तन गर्दा समेत आम्दानी गरेको उल्लेख गरिएको छ। कम्पनीले भारतबाट आयात गर्दै आएको रियलमीको स्मार्टफोन र एक्सेसरीज गत वर्षदेखि चीनबाट आयात गर्न गरिरहेको छ।
चीनबाट आयात गर्दा सञ्चालन लागत बढेर नाफाको मार्जिन घटाएको छ। सन् २०२५ मा कम्पनीको नाफा मार्जिन (इबिआइटिडिए) नेगेटिभ छ। जबकी सन् २०२४ मा कम्पनीको नाफामार्जिन ४.२० प्रतिशत र सन् २०२३ मा ५.०४ प्रतिशत थियो। साथै, कम्पनीको कुल नगद सञ्चिती (जिसिए) समेत नेगेटिभ छ।
जसले गर्दा कम्पनीले बैंकको ब्याज तिर्ने क्षमतामा समेत ह्रास आएको छ। सन् २०२४ मा डेब्थ सर्भिस कभरेज रेसियो १.७२ गुणा रहेकोमा सन् २०२५ मा ०.४० गुणामा सिमित भएको छ। यसले कम्पनी ऋण भुक्तानीमा अत्यन्तै दबावमा रहेको प्रष्ट हुन्छ।