काठमाडौं। बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीयबाहेक)का ऋणी समयमै ब्याज नतिर्दा अर्बौं रुपैयाँ ब्याज बक्यौताको भारमा परेका छन्। ऋणीले बैंकबाट कर्जा लिएर समयमै भुक्तानी नगर्दा बैंकले उठाउनुपर्ने ब्याज बक्यौता चालू वर्षको भदौसम्म १ खर्ब ७७ अर्ब ७८ करोड २४ लाख रुपैयाँ पुगेको हो।
यसमध्ये बैंकहरुले गत असोजसम्म उठाउनुपर्ने ब्याज बक्यौता मात्रै ४२ अर्ब ६० करोड ४६ लाख छ। राष्ट्र बैंकले बैंकहरुलाई गत भदौ २२ र २३ गते जेनजी प्रदर्शनका कारण बैंकलाई असोजमा पाकेको ब्याज उठाउने समय १५ दिन थपेको थियो। यसले गर्दा बैंकहरुले कात्तिक १५ सम्म ब्याज बक्यौता उठाउन पाउनेछन्।
भविष्यमा प्राप्त हुने ब्याजलाई सञ्चित ब्याजमा राखेर आम्दानीमा देखाउनुपर्छ। ऋणीले मासिक तथा त्रैमासिक रुपमा ब्याज भुक्तानी गर्दै गएपछि यस्तो सञ्चित आम्दानीको परिमाण घट्दै जान्छ भने बैंकहरूको ब्याज आम्दानी बढ्दै जान्छ। बैंकहरूले यस्तो ब्याज बक्यौता चालू वर्षको पहिलो त्रैमासमा ५० प्रतिशतसम्म उठाउन सक्ने कुमारी बैंकमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) रामचन्द्र खनाल बताउँछन्।
‘अहिले जम्मा भएको फिगर भनेको बैंक स्थापनादेखि हालसम्मको हो। यसमा असोजमा मात्रै उठाउनुपर्ने भनेको गत असारमा भदौसम्म थप भएको ब्याज बक्यौता हो,’ सीईओ खनालले क्यापिटल नेपालसँग भने, ‘साउन र भदौमा थप भएको ब्याज बक्यौता असोजमा डिमान्ड कल गरेर उठाउँछन्। कात्तिक १५ सम्म उठाउने समय भएको हुँदा ५० प्रतिशत उठ्ने सम्भावना छ।’
यस्तो ब्याज बक्यौता बैंकको कर्जा पोर्टफोलियो बढी हुँदा बढी हुने समस्यामा रहेका बैंक तथा वित्तीय संस्था मर्जर गर्ने बैंकको बढी हुने उनको भनाइ छ। बैंकहरुले पाकेको ब्याज उठाउन त्रैमासिक रुपमा ‘डिमान्ड कल’ गरेर रिकोभरी गर्छन्।
गत असारसम्म बैंकमा कुल १ खर्ब ३५ अर्ब १७ करोड ७८ लाख रुपैयाँ ब्याज बक्यौता थियो। यसमध्ये साउन र भदौमा मात्रै साढे ४२ अर्ब बढी ब्याज बक्यौता थपिएर कुल १ खर्ब ७७ करोड ७८ करोड रुपैयाँ पुगेको छ। थप भएको बक्यौता ब्याज बैंकहरुले कात्तिक १५ सम्म ५० प्रतिशतसम्म उठाउन सक्ने उनको अनुमान हो।
राष्ट्र बैंकको तथ्यांकअनुसार गत असारदेखि भदौसम्म यस्तो ब्याज बक्यौता वाणिज्य बैंकमा १ खर्ब ५५ अर्ब १२ करोड, विकास बैंकमा १० अर्ब ८ करोड र वित्त कम्पनीमा १२ अर्ब ३८ करोड रुपैयाँ छ। चालू वर्षको २ महिनामा वाणिज्य बैंकमा ३८ अर्ब ५७ करोड ५३ लाख, विकास बैंकमा ३ अर्ब ८ करोड ६४ लाख र वित्त कम्पनीमा ७४ करोड ८९ लाख रुपैयाँ थप भएको हो।

यो ब्याज बक्यौता असोजसम्म उठाउनुपर्ने थियो भने यस्तो ब्याज बक्यौता बैंकहरुले अब कात्तिक १५ सम्म उठाउनेछन्।कात्तिकसम्म उठाउन पाउने ब्याज बक्यौता सबैभन्दा बढी वाणिज्य बैंकतर्फ राष्ट्रिय वाणिज्य बैंकको १६ अर्ब ७१ करोड, विकास बैंकमा महालक्ष्मी विकास बैंकको १ अर्ब ७७ करोड र वित्त कम्पनीमा नेपाल सेयर मार्केटको ५ अर्ब ७७ करोड रुपैयाँ छ। तर, यस्तो ब्याज उठाउने समय थप भए पनि नउठेको ब्याज असुली नहुने एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ बताउँछन्।
‘असोजसम्म उठाउनुपर्ने सबै ब्याज उठेको छैन तर, तिर्नेले असोजमै तिरेका हुन्छन्। अब उठ्ने सम्भावना न्यून हुन्छ। चाडपर्वको व्यस्तता र बिदाको कारणले समय नपाएर नतिरेको ऋणीले तिर्न आए भने छुट्टै कुरा हो,’ सीईओ खालिङले क्यापिटल नेपालसँग भने, ‘तर, थपिएको समय नउठेको ब्याज उठ्ने सम्भावना न्यून हुन्छ। बैंकले असोज मसान्तअघि नै तिर्न बोलाएका हुन्छन्। त्यो बेला पनि नतिर्नेले अहिले तिर्ने सम्भावना कमै हुन्छ।’
अहिले बैंकको किस्ता बुझाउनेभन्दा त्यो पैसा अन्य आवश्यकता टार्ने विषयलाई प्राथमिकतामा राख्ने ऋणी बढी भएको कारणले गर्दा ब्याज बक्यौताको परिमाण बढ्दै गएको उनको भनाइ छ। गत वर्षदेखि नै अर्थतन्त्रमा आएको आर्थिक गतिविधिको सुस्त प्रभाव बैंकिङ क्षेत्रका ऋणीमा पर्दा बैंकहरूको सञ्चित ब्याज परिमाण बढ्न पुगेको देखिन्छ। समग्र अर्थतन्त्र सुस्त रहेको अवस्थामा बैंकको कर्जा असुली प्रभावित भएको छ। पछिल्लो पटकको जेनजी प्रर्दशनको प्रभावले बैंकहरुको कर्जा असुली कति प्रभावित हुन्छ भनेर यकिन तथ्यांक बैंकले वित्तीय विवरण प्रकाशित गरेपछि मात्रै आउने छ।

