काठमाडौं। उत्तरी गोरखाका विभिन्न गाउँ र मुस्ताङमा हिमपात हुँदा पर्यटक र यात्रु प्रभावित भएका छन्। गोरखाको चुमनुब्री गाउँपालिकाका विभिन्न गाउँबस्तीमा गए रातीदेखि हिमपात भइरहेको त्यहाँका स्थानीयले बताएका हुन्।
हिमपात भएपछि जनजीवन प्रभावित भएको चुमनुब्री गाउँपालिका–७ का पासाङफुञ्जो लामाले जानकारी दिए। ‘गए राती हल्का पानी पर्न सुरु भएको थियो। राती नै हिउँ पर्न थाल्यो। अहिलेसम्म पनि हिउँ परिरहेको छ’, उनले भने, ‘अहिले मान्छे घरभित्रै आगो तापेर बसिरहेका छन्, चौँरी पनि भित्रको भित्रै छन्।’
सो वडाको तीन हजार मिटरभन्दा धेरै उचाइमा रहेका निले, छुले, पाङ्दुन, लार, फुर्पे, लामागाउँ, बुर्जी, जोङ, छेकमलगायत गाउँ हिउँले ढाकिएका छन्। त्यस्तै, वडा–१ को सामागाउँ, साम्दो, वडा– २ को स्याला, ल्होलगायतका गाउँ पनि हिउँले ढाकिएको छ।
हिउँ परेपछि मनास्लु क्षेत्र भ्रमणमा गएका पर्यटक पनि प्रभावित भएका छन्। पाँच हजार १०६ मिटर अग्लो स्थानमा रहेको लार्केपासमा गएका पर्यटक सामागाउँ, साम्दोमै रोकिएका स्थानीयले बताएका छन्।
उच्च हिमाली पदमार्गमा यात्रा नगर्न मुस्ताङ प्रशासनको आग्रह
मुस्ताङमा बाक्लो हिमपात परेपछि प्रशासनले हिमाली पदमार्गमा यात्रा नगर्न सुझाएको छ। कागबेनीदेखि माथिल्लो क्षेत्र, उपल्लो मुस्ताङ, मुक्तिनाथ आदि स्थानमा अहिले पनि हिमपात भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको हो।

प्रहरी कार्यालयका अनुसार मुक्तिनाथ मन्दिर परिसर, आसपासका स्थानमा हिमपातले तीर्थालु प्रभावित बनेका छन्। स्थानीयको समेत जनजीवन कष्टकर बनेको प्रहरीले जानकारी दिएको छ।
प्रशासनले यहाँस्थित पर्यटकीय पदमार्गमा यात्रा नगर्न पदयात्रीलाई आग्रह गरेको छ। जिल्ला प्रशासन कार्यालय मुस्ताङले जल तथा मौसम विभागले बुधबारसम्म मौसम प्रतिकूल रहने बताएपछि मुस्ताङका उच्च हिमाली क्षेत्रमा पदयात्रा नगर्न अनुरोध गरेको हो।
मुस्ताङका उच्च हिमाली क्षेत्रको मुस्ताङ–डोल्पा, पाँच हजार ८०० मिटर उचाइको याकखर्क क्षेत्र, पाँच हजार ४०० मिटर उचाइको मनाङ–मुस्ताङ थोरङ्लापास, ६ हजार मिटर उचाइको मुस्ताङ–मनाङ सरिबुङ पास र मुस्ताङ–म्याग्दीको धौलागिरि पदमार्गको धम्पुस पिकलगायतका क्षेत्रमा भारीदेखि हल्का हिमपात हुने विभागको प्रक्षेपण छ।