मुस्ताङ। कात्तिक सुरु भएको १० दिनमै मुस्ताङमा ४० हजार बढी पर्यटकले भ्रमण गरेका छन्।
राष्ट्रिय गौरवको बेनी–जोमसोम सडक मार्ग हुँदै कात्तिक १ देखि १० सम्म ३७ हजार १४६ जना आन्तरिक र ३७३२ जना विदेशी पर्यटक मुस्ताङ भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ।
मुस्ताङमा सो अवधिमा बेनी–जोमसोम सडक मार्ग हुँदै बस, जीप, कार, भ्यान र मोटरसाइकल गरी ११ हजार ८०८ वटा सवारीसाधन भित्रिएको जिल्ला प्रहरी कार्यालय मुस्ताङका प्रहरी नायब उपरीक्षक छिरिङ किप्पा लामाले बताए।
कात्तिक १० गते म्याग्दी हुँदै मुस्ताङ भित्रिएका ४५९८ पर्यटकमध्ये कतिपयको मुक्तिनाथ दर्शन यात्रा हिमपातका कारण असहज बनाइदिएको छ। सोमबार रातीदेखि नै मुस्ताङमा वर्षा र हिमपात भएसँगै यहाँका आएका पर्यटक समस्यामा परेका हुन्।
कागबेनी–मुक्तिनाथ सडक खण्ड र मुक्तिनाथ बसपार्कदेखि मुक्तिनाथ मन्दिरसम्मको पैदलमार्गमा बाक्लो हिमपात भएका कारण यहाँ आएका तीर्थालु समस्यामा परेको मुक्तिनाथ मन्दिर विकास समितिका कर्मचारी रविन सुवेदीले बताए।
मुक्तिनाथ क्षेत्रमा भारी हिमपात भएकाले चिसो अत्यधिक बढेको छ। मुक्तिनाथ स्नानकुण्ड र १०८ धारा जमेका कारण भक्तजनलाई धार्मिक कार्यमा बाधा पुगेको सुवेदीको भनाइ छ।
चालू वर्षको साउनदेखि कात्तिक १० सम्म १ लाख ५९ हजार ४६७ जना पर्यटक बेनी–जोमसोम सडक मार्ग हुँदै मुस्ताङ भित्रिएका छन्।–रासस