काठमाडौं। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दै छ। पार्टी मुख्यालय बीपी स्मृति भवन सानेपामा बस्ने बैठकमा बिहीबार बोल्न बाँकी केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राख्नेछन्।
गत असोज २८ देखि सुरु भएर कात्तिक मेलापर्वका कारण कात्तिक १ मा स्थगित केन्द्रीय समिति बैठक कात्तिक १३ देखि सुरु भएको हो।
बैठक नियमित वा विशेष महाधिवेशन, भदौ २३ र २४ को जेनजी आन्दोलन, अन्तरिम सरकार गठन एवं प्रतिनिधिसभा विघटनपछि उत्पन्न राजनीतिक परिस्थिति तथा त्यसमा कांग्रेसको भूमिका विषयमा बैठक केन्द्रित रहेको प्रवक्ता प्रकाशशरण महतले बताए।
बिहीबारको बैठकमा केही केन्द्रीय सदस्यले निर्वाचनपछि मात्रै महाधिवेशन गर्नु उपयुक्त हुने धारणा राखेका थिए भने कसैले तोकिएको समय मंसिरमै महाधिवेशन गरिनुपर्ने बताएका थिए।
बिहीबारको बैठकमा केन्द्रीय सदस्य रमा कोइराला, टेकप्रसाद गुरुङ, राजेन्द्रकुमार केसी, रंगमती शाही, मदनकृष्ण श्रेष्ठ, सीताकुमारी राना, विद्यादेवी तिमिल्सिना, शान्ति परियार विक, लक्ष्मी खतिवडा, मानबहादुर विश्वकर्मा, कृष्णचन्द्र नेपाली पोखरेल, बहादुरसिंह (लामा) तामाङ, आमन्त्रित केन्द्रीय सदस्य पुष्पराज पराजुली, आमन्त्रित प्रदेश सभापति इन्द्रबहादुर बानियाँ (बागमती) र अमरसिंह पुन (लुम्बिनी)ले आ–आफ्नो धारणा व्यक्त गरेका थिए।
१४औं महाधिवेशनबाट निर्वाचित कांग्रेस केन्द्रीय समितिको कार्यकाल आगामी मंसिरमा सकिँदै छ।
जेनजी आन्दोलनका क्रममा अराजक समूहले बूढानीलकण्ठ निवासमा आगलागी र सभापति शेरबहादुर देउवा दम्पतीमाथि सांघातिक आक्रमण गरेसँगै अस्पताल भर्ना हुनुपरेको थियो। हाल देउवा दम्पती उपचारका लागि सिंगापुर गएका छन् भने कार्यवाहक सभापतिको जिम्मेवारी पूर्णबहादुर खड्काले पाएका छन्।