काठमाडौं।विभिन्न व्यत्तिरुको प्रलोभनमा परी विभिन्न माध्यमबाट कम्बोडिया पुगेका र त्यहाँ अवैध रूपमा सञ्चालन गरिएका अनलाइन स्क्यामिङ केन्द्र र क्यासिनोमा अनलाइन ठगीमा परेका ५१ नेपालीको उद्धार गरिएको छ।
अनलाइन ठगिका साथै विभिन्न गैरकानुनी काममा लगाइएका साथै कम्बोडियामा बिनाराहदानी बसिरहेका उनीहरुलाई आज थाइल्यान्डस्थित नेपाली दूतावासको पहल र कम्बोडिया सरकारको सहयोगमा उद्धार गरी गैरआवासीय नेपाली संघ, कम्बोडियाको सहजीकरणमा नेपाल फर्काइएको हो।
यसैगरी अलपत्र परेका वा कठिन परिस्थितिमा रहेका अन्य नेपालीलाई नेपाल फर्काउने पहल भइरहेको दूतावासले जनाएको छ। कम्बोडियामा नेपालीलाई नागरिक अनलाइन ठगीलगायत गैरकानुनी काममा लगाइएको र बिनाराहदानी वा राहदानी–अवधिभन्दा बढी समय बसिरहेको जानकारी प्राप्त भएको दूतावासले जनाएको छ।
कम्बोडियामा अवैध रुपमा बसिरहेका नेपाली नागरिकलाई नेपाल फर्कन सहजीकरणका लागि नेपाली दूतावास बैंकक वा गैरआवासीय नेपाली संघ कम्बोडियाका प्रतिनिधिलाई सम्पर्क गर्न अनुरोध गरिएको छ। स्क्यामिङ केन्द्रमा काम लगाइएकाको राहदानी कम्पनीले जफत गर्ने गरेको वा स्क्यामिङ केन्द्रबाट ट्रान्सफर हँुदा राहदानी हराएको भनि जनाको गुनासो आएको छ।
त्यस्तो अवस्थामा नेपाल फर्किनलाई नेपाली राजदूतावास बैंककले उद्धार गर्न बिनाशुल्क एकतर्फी यात्रा अनुमतिपत्र जारी गरिदिने गरेको छ।
कम्बोडियाको पर्यटनसम्बन्धी तथ्यांकअनुसार पछिल्लो समय सन् २०२१ मा १०१ नेपाली भ्रमण भिसामा कम्बोडिया गएकामा सन् २०२२ मा एक हजार ९७७ जना, सन् २०२३ मा दुई ९४० जना, सन् २०२४ मा ६ हजार ४०४ जना तथा सन् २०२५ मा ९ हजार ६७६ नेपाली कम्बोडिया गएको देखिन्छ।
नेपाल सरकारले तोकेका मापदण्डबमोजिम श्रम स्वीकृति लिएर मात्र वैदेशिक रोजगारीमा जान तथा कसैको प्रलोभनमा परी छिटो र धेरै पैसा कमाउने लोभमा कम्बोडिया, लाओस, म्यानमार थाइल्यान्डलगायतका मुलुकमा भ्रमणको बहाना गरी वैदेशिक रोजगारीमा नआउन लागि दूतावासले अनुरोध गरेको छ।