काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्ष २०८२/८३ को दोस्रो चौमासिकमा पुँजीगत खर्च १० प्रतिशत गरेको छ। सरकारले दोस्रो चौमासिक अर्थात् साउनदेखि फागुनसम्म कुल बजेटको १० प्रतिशत मात्रै खर्च गरेको हो। कार्यालयको तथ्यांकअनुसार दोस्रो चौमासिकमा पुँजीगत खर्च ९.९९ प्रतिशत छ।
पुँजीगततर्फको १९ अर्ब ८२ करोड २३ लाख ५६ हजार बजेटमध्ये दोस्रो चौमासिकमा १ अर्ब ९७ करोड ९७ लाख रुपैयाँ खर्च भएको छ। नयाँ अधिकांश योजना कार्यान्वयनमा नगएकाले खर्च भएको पुँजीगत बजेटमा पनि धेरैजसो बहुवर्षीय योजना रहेका छन्।
चालूगततर्फको १३ अर्ब ६० करोड रुपैयाँ बजेट विनियोजन गरेकामा ३ अर्ब ६९ करोड ४७ लाख खर्च गरेको छ, जुन कुल बजेटको २७.१७ प्रतिशत हो।
चालू वर्षका लागि ३३ अर्ब ४३ करोड २५ लाख ९८ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको सरकारले दोस्रो चौमासिकमा ५ अर्ब ६७ करोड ४४ लाख रुपैयाँ खर्च भएको छ। यो कुल बजेटको १६.९७ प्रतिशत खर्च हो।
विकास निर्माणका कामले गति लिन नसक्दा प्रदेशमा पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएको प्रदेश लेखा नियन्त्रक कार्यालयको तथ्यांकले देखाएको छ। सरकारले चालू वर्षको बजेटमा समावेश गरेका अधिकांश योजना अझै कार्यान्वयनमा जान सकेका छैनन्।
प्रदेश लेखा नियन्त्रक कार्यालय सुदूरपश्चिमका प्रदेश लेखा नियन्त्रक वासुदेव जोशीका बजेट विनियोजन गर्दा योजना संख्या बढी भएको र गत वर्ष स्रोत सुनिश्चितता भएको बजेटमा कम नयाँ योजनामा प्रक्रिया नै पूरा गर्ने पहिलो त्रैमासिक लाग्ने र टेन्डर प्रक्रिया सुरु भएपछि मात्रै ते्रसो त्रैमासिकबाट मात्रै बजेट खर्च हुने प्रचलन अहिलेसम्म देखिएको छ।
अब बजेट खर्च बढेर जाने उनले बताए। ‘अहिलेसम्मको अवस्था हेर्ने हो भने जेठ र असारमा बढी बजेट खर्च भएको देखिन्छ,’ उनले भने,‘ यो खर्च सन्तोषजनक भन्न सकिँदैन।’प्रदेश सरकारले १० लाखभन्दा कम खर्चका योजना बन्द गरेकाले पनि बजेट खर्च कम भएको हुन सक्ने उनको भनाइ छ।