काठमाडौं। निरन्तरको झरीपछि आएको बाढीपहिरोले शुक्रबार बिहानसम्म देशका मुख्य राजमार्ग पूर्ण अवरुद्ध बनेका छन्। शुक्रबार बिहान १० सम्म देशका विभिन्न ११ स्थानमा राजमार्ग अवरुद्ध बनेको नेपाल प्रहरीको सूचनामा उल्लेख छ।
प्रहरीका अनुसार कोसी प्रदेशका पाँच स्थानमा सडक अवरुद्ध भएका छन्। संखुवासभाको भोटखोला गाउँपालिका–४ शरण खोला, इलाममा मेची राजमार्ग, पाँचथरमा च्याङथापु–भोटखोला सडक खण्ड, ओखलढुंगाको मनमाया–सिद्धिचरण सडक खण्डलगायतमा सवारी आवागमन अवरुद्ध छ।
प्रहरीका अनुसार बागमतीमा काभ्रेपलाञ्चोक, सिन्धुली, नुवाकोट, रामेछाप र रसुवामा गरी पाँच स्थानमा सडक अवरुद्ध छन्। गोसाईकुण्ड–स्याफ्रुबेँसी, नारायणथुम–मुल्खार, खाँडादेवी–ठोक्से चौरलगायत खण्डमा पहिरोका कारण आवागमन ठप्प भएको प्रहरीले जनाएको छ।
गण्डकीका म्याग्दी र मुसिकोट दुई स्थानमा, लुम्बिनीको अर्घाखाँची एक स्थानमा र कर्णाली प्रदेशमा डोल्पाको त्रिपुरासुन्दरी–खोलगाउँ सडक खण्डमा सवारी आवागमन पूर्ण रूपमा रोकिएको छ।
प्रहरीले अवरुद्ध सडक मर्मत र खुलाउने कार्य जारी रहेकाले वैकल्पिक मार्ग प्रयोग गर्न आग्रह गरेको छ।