काठमाडौं। चालू आर्थिक वर्ष २०८२/८३ को सुरुआती तीन महिनामै ५० अर्ब ६० करोड बराबर सरकारी ऋण थपिएको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ।
कार्यालयका अनुसार गत असारसम्म २६ खर्ब ७४ अर्ब चार करोड बराबर रहेको सरकारी ऋण असोजसम्म बढेर २७ खर्ब २४ अर्ब ६५ करोड पुगेको छ। हाल तिर्न बाँकी सरकारी ऋण कुल गार्हस्थ उत्पादनको ४४ दशमलव ६१ प्रतिशत बराबर हुन आउँछ।
कुल सार्वजनिक ऋणमा असोजसम्म वैदेशिक ऋणको हिस्सा ५३ दशमलव ०९ प्रतिशत अर्थात् १४ खर्ब ४६ अर्ब ५८ करोड र आन्तरिक ऋणको हिस्सा ४६ दशमलव ९१ प्रतिशत अर्थात् १२ खर्ब ७८ अर्ब सात करोड छ।
सरकारले चालु आर्थिक वर्षका लागि पाँच खर्ब ९५ अर्ब बराबर सार्वजनिक ऋण परिचालन गर्ने लक्ष्य राखेकामा पहिलो त्रैमासमा १ खर्ब ८४ करोड ऋण प्राप्ति भइसकेको कार्यालयले जनाएको छ । जुन वार्षिक लक्ष्यको तुलनामा १६ दशमलव ९३ प्रतिशत बराबर हो।
आन्तरिकतर्फ तीन खर्ब ६२ अर्ब ऋण उठाउने सरकारी लक्ष्य रहेकोमा असोजसम्म ९० अर्ब अर्थात् वार्षिक लक्ष्यको २४ दशमलव ८६ प्रतिशत ऋण उठिसकेको छ। त्यस्तै, बाह्यतर्फ दुई खर्ब ३३ अर्ब ६६ करोड बराबर उठाउने लक्ष्य रहेकामा हालसम्म वार्षिक लक्ष्यको चार दशमलव ६५ प्रतिशत अर्थात् एक अर्ब ८४ करोड बराबर मात्रै उठ्न सकेको छ।
सरकारी ऋणको साँवाब्याज तिर्न सरकारले यस वर्ष चार खर्ब ११ अर्ब एक करोड बराबर बजेट छुट्याएको छ। यसमध्ये असोजसम्म एक खर्ब ९ अर्ब ८९ करोड बराबर भुक्तानी भइसकेको छ।
यो वार्षिक बजेट विनियोजनको आधारमा २६ दशमलव ७४ प्रतिशतको हो। कुल गार्हस्थ उत्पादनका आधारमा असोजसम्म कुल ऋण सेवा खर्च एक दशमलव ८० प्रतिशत रहेको छ।