काठमाडौं। अर्थमन्त्री रामेश्वर खनालले निजी क्षेत्रमाथिको आक्रमणलाई राष्ट्रकै सम्पत्तिमाथिको आक्रमण भएको बताएका छन्।
काठमाडौंमा आयोजित ‘क्यापासिटी बिल्डिङ फर फिमेल इकोनोमिक जर्नालिस्ट’ कार्यक्रममा बोल्दै मन्त्री खनालले निजी क्षेत्रले सिर्जना गरेको भौतिक सम्पत्ति राष्ट्रकै सम्पत्ति भएको भन्दै त्यसमाथिको आक्रमणले देशको लगानी वातावरणमा नकारात्मक असर पार्ने चेतावनी दिए।
उनले सञ्चार माध्यमलाई समाचार सम्प्रेषणका क्रममा ‘सम्पत्ति’ र ‘स्वामित्व’बीचको भिन्नता स्पष्ट बुझ्न आवश्यक रहेको पनि औंल्याए। खनालले गलत सूचना वा अतिरञ्जित हेडलाइनका कारण बजारमा अनावश्यक रूपमा नकारात्मक वा सकारात्मक प्रभाव पर्न सक्ने बताउँदै त्यसले लगानीकर्ताको आत्मविश्वास घटाउने बताए।
उनले भने, ‘कुनै पनि निजी क्षेत्रले सिर्जना गरेको भौतिक पूर्वाधार — चाहे त्यो भाटभटेनी होस्, हिल्टन होटल होस् वा गाडीका शोरुम। ती सबै राष्ट्रकै सम्पत्ति हुन्। स्वामित्व हस्तान्तरण हुन सक्छ तर, सम्पत्ति यहीँ रहन्छ। निजी क्षेत्रमाथिको आक्रमण भनेको राष्ट्रिय सम्पत्तिमाथिको आक्रमण हो।’
खनालले एनसेलको उदाहरण दिँदै स्वामित्व परिवर्तन हुँदैमा कम्पनीको भौतिक सम्पत्ति देशबाहिर नजाने स्पष्ट पारे। ‘हिजो टेलियासोनेरा थियो, आज आजियाटा छ, भोलि अर्को पनि आउन सक्छ। तर, एनसेलले बनाएको सम्पत्ति यहीँ रहन्छ’, उनले भने, ‘स्वामित्वमा गल्ती भए पनि त्यसको कारणले सम्पत्तिमाथि क्षति पुर्याउने सोच गलत हो।’
उनले हाल विदेशी लगानीकर्ताविरुद्ध ‘लुट्ने’ वा ‘स्रोत बर्बाद गर्ने’जस्ता भाष्य फैलिन थालेको बताउँदै यस्तो धारणा देशको लगानी वातावरणका लागि हानिकारक रहेको टिप्पणी गरे।
अर्थमन्त्री खनालका अनुसार सही सूचना र तथ्यमा आधारित समाचार प्रसारण गरेर सञ्चारमाध्यमले देशमा विश्वासिलो र स्थिर लगानी वातावरण निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्न सक्छ।