काठमाडौं। उच्च हिमपात र अविरल वर्षाका कारण पाँच दिनदेखि तिलिचो बेस क्याम्पमा फसेका ११ जना आन्तरिक पर्यटकको सशस्त्र प्रहरी बलले उद्धार गरेको छ। सशस्त्र प्रहरीको माउन्टेन रेस्क्यु ट्रेनिङ स्कुल (एमआरटीएस) बाट खटिएको टिमले पर्यटकको सफलतापूर्वक उद्धार गरेको हो।
उद्धार गरिएका पर्यटकमा एक खुट्टामा चोट लागेका व्यक्ति, एक ९ वर्षीय बालक, एक महिला बिरामी र अन्य सामान्य अवस्थाका रहेको सशस्त्रले जनाएको छ।
सबैको अक्सिजन स्तर कम रहेको बताइएको छ। उद्धार कार्य साँघुरो, भिरालो र दुई फिट बरफ जमेको कठिन बाटो हुँदै ९ घन्टाको यात्रापछि सम्पन्न भएको हो।
पर्वतीय उद्धार तालिम शिक्षालयबाट एसपी टोपबहादुर डाँगीको कमान्डमा मेडिकल तथा माउन्टेन रेस्क्यु टिमले विशेष माउन्टेन रेस्क्यु गियर र उपकरण प्रयोग गरी जोखिमपूर्ण काम गरेको हो। पर्यटकको अवस्था सामान्य रहेको र उनीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको सशस्त्र प्रहरीले जनाएको छ।
शिक्षालयमा यो आर्थिक वर्षमा पहिलो पटक ‘हाई अल्टिच्युड सर्च एन्ड रेस्क्यु तालिम सञ्चालन गरिएको थियो। तालिमका क्रममा पर्वतीय उद्धार तालिम शिक्षालयका प्रशिक्षक तथा प्रशिक्षार्थी गरी ३९ जनाले असोज अन्तिम सातामा चुलु फार इस्ट (६,०३८ मिटर) को सफल आरोहण गरेका थिए।
यसले सशस्त्र प्रहरी बल्को माउन्टेन रेस्क्यूको क्षमता अभिवृद्धि गरेको छ र भविष्यमा यस्ता घटनामा थप प्रभावकारी भूमिका निर्वाह गर्न सक्षम बनाएको छ।
सशस्त्र प्रहरी बलले उच्च हिमाली क्षेत्रमा पर्यटकको सुरक्षाका लागि यस्ता तालिम र अभ्यासलाई निरन्तरता दिइने बताएको छ। हिमाली क्षेत्रमा भएका यस्ता घटनाले नेपालको पर्यटन क्षेत्रमा मौसमी जोखिमको सामना गर्न आवश्यक पूर्वतयारीको महत्त्वलाई उजागर गरेको सशस्त्र प्रहरी बलको अनुभव छ।