काठमाडौं। नेपालको नागरिक उड्डयन क्षेत्रमा दीर्घकालीन सुरक्षा सुनिश्चित गर्न स्वतन्त्र र स्थायी ‘नेपाल हवाई यातायात सुरक्षा ब्युरो’ गठन गर्न सिफारिस गरिएको छ।
पछिल्लो समय नेपालमा भएका हवाई दुर्घटनाको छानविन पारदर्शी नभएको र प्रभावकारी नभएको गुनासो बढिरहेको बेला स्थायी खालको समिति बनाउन सुझाव दिएको हो। दुर्घटनापछि गठन हुने समितिमा बस्ने सदस्यहरु स्वार्थ बाझिने खालका हुने र पारदर्शी रिपोर्ट नआउने पीडितहरुले गुनासो गर्दै आएका छन्।
नागरिक उड्डयन क्षेत्र सुधारसम्बन्धी उच्च स्तरीय अध्ययन तथा सुझाव समितिले हवाई दुर्घटना अनुसन्धान, नियमन र नीति पुनरावलोकनका लागि एउटै सबल र स्वायत्त निकाय स्थापना गर्न सुझाव दिएको हो। हाल नेपालमा विमान दुर्घटनापछि मात्र अस्थायी आयोग गठन गरिँदै आएको र त्यसले दीर्घकालीन सुरक्षा सुधारमा योगदान पुर्याउन नसकेको समितिको निष्कर्ष छ।
समितिका अनुसार अन्तर्राष्ट्रिय निकायहरू जस्तैः अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ), युरोपियन युनियन (ईयु) र अन्य क्षेत्रीय नियामक संस्थाहरूले पनि नेपालमा स्थायी अनुसन्धान निकाय आवश्यक रहेको औँल्याएका छन्।
दुर्घटनापश्चात गरिएका सुरक्षा सिफारिसको निरन्तर अनुगमन नहुने, प्राधिकरणद्वारा हुने सुरक्षा निरीक्षणको नियमित मूल्यांकन प्रणाली नहुनु र राज्य सुरक्षा कार्यक्रम (एसएसपी) प्रभावकारी रूपमा कार्यान्वयन नहुने अवस्थाले यस्तो ब्युरो अपरिहार्य भएको समितिको ठहर छ।
प्रस्तावित ब्युरोलाई हवाई दुर्घटना तथा घटना अनुसन्धान, सुरक्षा सिफारिसको अनुगमन, राज्य सुरक्षा कार्यक्रमको मूल्यांकन र हवाई नीति तथा कानूनी अद्यावधिकमा समेत भूमिका दिने सिफारिस गरिएको छ। ब्युरो पूर्ण रूपमा स्वतन्त्र, व्यावसायिक र राजनीतिक दबाबमुक्त रहने छ। यसको आफ्नै कर्मचारी, विज्ञ, सल्लाहकार तथा बजेट रहने व्यवस्था गरिने बताइएको छ।
समितिको निष्कर्षमा भनिएको छ, ‘नेपालको हवाई प्रणालीमा अनुसन्धान, नियमन र सुरक्षा मूल्यांकनका स्वतन्त्र संरचना अभावमा सुरक्षाको वास्तविक स्थिति सतही रूपमा मात्रै देखिन्छ। स्वतन्त्र ब्युरो स्थापनाले पारदर्शिता, व्यावसायिकता र विश्वसनीयता ल्याउने छ।’
यो ब्युरोलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार सञ्चालन गर्नुपर्ने र यसले नेपालको हवाई प्रणालीलाई सुरक्षित, पारदर्शी र अन्तर्राष्ट्रिय स्तरमा विश्वसनीय बनाउन महत्वपूर्ण योगदान पुर्याउने समितिको विश्वास छ।