काठमाडौं। नेपाल बिमा प्राधिकरणबाट सार्वजनिक विवरणअनुसार चालू आर्थिक वर्षको पहिलो त्रैमास अर्थात् असोजसम्म जीवन बिमा कम्पनीले ९ अर्ब ५४ करोड ९ लाख रुपैयाँ बिमाशुल्क आर्जन गरेका छन्। प्राधिकरणका अनुसार १४ जीवन बिमा कम्पनीले यस्तो बिमाशुल्क आर्जन गरेका हुन्।
जीवन बिमा कम्पनीले गत आवको सोही अवधिमा ८ अर्ब १५ करोड ८४ लाखको बीमा व्यवसाय गरेका थिए। गत आर्थिक वर्ष साउनको तुलनामा बिमाशुल्क आर्जन १६.९५ प्रतिशतले बढेको प्राधिकरणको विवरणमा उल्लेख छ। साउनमा नेपाल लाइफ र नेसनल लाइफ इन्स्योरेन्सले सबैभन्दा बढी बिमाशुल्क आर्जन गर्न सफल भएका छन्।
गत आवको तुलनामा नेपाल लाइफ इन्स्योरेन्सले नयाँ व्यवसाय सबैभन्दा बढीले वृद्धि गरेको छ। कम्पनीले नयाँ व्यवसाय ३७.३३ अंकले बढेर २ अर्ब ७० करोड पुगेकाे छ।
आइएमई लाइफ इन्स्योरेन्सले चालू आवको असोजमा प्रथम बिमाशुल्क आर्जन ३७.१८ प्रतिशतले वृद्धि गरेको छ। कम्पनीले यस अवधिमा ४२ करोड ४७ लाख रुपैयाँको आर्जन गरेको प्राधिकरणको तथ्यांकमा उल्लेख छ। यस्तै, तेस्रो नम्बरमा एलआइसी नेपालले गत आवको तुलनामा व्यवसाय ३१.५२ प्रतिशतले बढाएको देखिएको छ।
प्राधिकरणका अनुसार समीक्षा अवधिमा सिटिजन लाइफको प्रथम बिमाशुल्क आर्जन २२.४२ प्रतिशत, रिलायबल नेपाल लाइफको १९.६६ प्रतिशत, मेट लाइफ नेपालको १७.१२ प्रतिशत, सरकारी कम्पनी राष्ट्रिय जीवन बिमाको १६.४३ प्रतिशत, एसियन लाइफको १५.४६ प्रतिशत बिमा व्यवसाय बढेको छ।
यस्तै, नेसनल लाइफको प्रथम बिमाशुल्क आर्जन १३.८३ प्रतिशत, सूर्यज्योतिको ११.७८ प्रतिशत, प्रभु महालक्ष्मीको ८.३८ प्रतिशतले गत आर्थिक वर्षको तुलनामा प्रथम बिमाशुल्क आर्जन बढेको छ।
