काठमाडौं। चालू आर्थिक वर्षको पहिलो त्रैमासमा अधिकांश वाणिज्य बैंकहरूको खुद नाफा घटेको छ। गत वर्षको पहिलो त्रैमासको तुलनामा चालू वर्षको सोही अवधिमा १५ वाणिज्य बैंकको नाफा अधिकतम २११ प्रतिशतसम्मले घटेको हो।
शुक्रबार सार्वजनिक चालू वर्षको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरणअनुसार उक्त अवधिमा वाणिज्य बैंकहरूको खुद नाफा औषत १८.७८ प्रतिशतले घटेको छ।
गत वर्ष वाणिज्य बैंकले पहिलो त्रैमासमा कुल १६ अर्ब १८ करोड रुपैयाँ खुद नाफा कमाएका थिए। चालू वर्षको सोही अवधिमा वाणिज्य बैंकहरूको यस्तो नाफा १३ अर्ब १४ करोड रुपैयाँमा सीमित भएको छ।
समीक्षा अवधिमा १५ वाणिज्य बैंकहरूको खुद नाफा २ प्रतिशतदेखि २११.२० प्रतिशतसम्मले घटेको छ। यसमा सबैभन्दा बढी सिटिजन्स बैंकको र सबैभन्दा कम कुमारी बैंकको खुद नाफा घटेको हो।
साथै, समीक्षा अवधिमा कृषि विकास बैंकको खुद नाफा ९६.९९ प्रतिशतले घटेर ५७ लाख र नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको खुद नाफा ९६.९२ प्रतिशतले घटेर ४ करोड ५० लाख रुपैयाँमा सीमित भएको छ।
खुद नाफाको परिमाणका आधारमा भने चालू वर्षको पहिलो त्रैमासमा सबैभन्दा बढी ग्लोबल आइएमई बैंकले १ अर्ब ८५ करोड, दोस्रोमा नबिल बैंकले एक अर्ब ७५ करोड, तेस्रोमा प्राइम कमर्सियल बैंकले १ अर्ब २५ करोड, चौथोमा एभरेष्ट बैंकले १ अर्ब १७ करोड पाँचौमा कुमारी बैंकले १ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएका छन्।
अन्य १४ वाणिज्य बैंकको नाफा १ अर्बभन्दा कम ५७ लाख रुपैयाँसम्ममा संकुचित भएको छ।
