काठमाडौं। शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल चार घण्टा बन्द भयो। विमानस्थलको धावनमार्गमा भएको विद्युत सर्टका कारण बेलुका ५ बजे बन्द गरिएको विमानस्थल राति ९ बजेपछि मात्र सञ्चालनमा आयो।
पिक आवरमै विमानस्थल बन्द भएपछि नेपाल आउने र नेपालबाट विदेश जाने अन्तर्राष्ट्रिय उडानहरु ठप्प भए। आन्तरिक उडानहरु पनि रोकिए। जसको कारण सयौं यात्रु त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै अलपत्र परे भने कतिको उडान डिले हुँदा विदेशको ट्रान्जिट तालिका समेत बिग्रियो।
काठमाडौंमा रहेको विमानस्थल बन्द भएपछि नेपाल उडिसकेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरुले जहाज धमाधम भारतमा रहेका विमानस्थलहरुमा डाइभर्ट गरे। २२ फन्को नेपाली आकाशमा लगाएको कतार एयरवेजको जहाज बंगलादेशको ढाकामा डाइभर्ट गरियो भने फ्लाई दुबईको जहाज लखनउमा रहेको विमानस्थलमा अवतरण गरियो। कोरियन एयरको जहाज नयाँदिल्लीमा डाइभर्ट भयो।
यसरी त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा समस्या आउने बित्तिकै वा बन्द हुँदा भारत र बंगलादेशमा जहाज डाइभर्ट भएको घटना शनिबारको मात्र पहिलो होइन। यसअघि विमानस्थल बन्द हुँदा पनि जहाजहरु यसैगरी भारत र बंगलादेशका विमानस्थलहरुमा डाइभर्ट हुने गरेका थिए।
शनिबार ४ घण्टासम्म त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बन्द हुँदा जहाजहरु भारत र बंगलदेशमा डाइभर्ट भइरहँदा धेरैले सामाजिक सञ्जालमा पोखरा र भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा किन डाइभर्ट गरिएन भन्ने प्रश्नहरु धेरै गरे। नेपाल पत्रकार महासंघका केन्द्रिय सदस्य मनुका कुवरले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘अन्तरराष्ट्रिय विमानस्थलको यस्तो दिन पनि आउँदो रहेछ बरै। पोखरा र भैरहवा नेताका नाम लेखाउन र काम गरेँ है भनेर जनतालाई देखाउन मात्र बनेका रै छन्।’
यसरी पोखरा र भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थल हुँदाहुँदै पनि किन भारत र बंगलदेशमा जहाज डाइभर्ट गरियो भन्ने प्रश्न गर्नेमा पत्रकार कुवर मात्र होइनन्, उनी जस्ता धेरैले सामाजिक सञ्जालमा प्रश्न गरेको देख्न सकिन्छ।
पोखरा र भैरहवामा किन गरिँदैन डाइर्भट?
अहिले चर्चा पनि चलिरहेको छ कि के त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आएका जहाजहरुलाई पोखरा र भैरहवामा रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा डाइभर्ट गर्न मिल्दैन थियो त? नेपाल नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जहाज कहाँ डाइभर्ट गर्ने सम्पूर्ण अधिकार सम्बन्धित एयरलाइन्सकै हुने बताउँछन्।
‘जहाज उडान अघिनै गन्तव्य विमानस्थल आसपासको दुईवटा विमानस्थललाई वैकल्पिकको रुपमा छनौट गरिसकेको हुन्छ’ सूचना अधिकारी भुलले भने, ‘त्यही अनुसारले गन्तव्य विमानस्थलमा केही समस्या आएमा तत्कालै अर्को विमानस्थलमा डाइभर्ट गरिन्छ।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल वा प्राधिकरणले एयरलाइन्सलाई यो वा त्यो विमानस्थलमा डाइभर्ट गर भन्ने अधिकार नभएको उनले बताए। एयरलाइन्सहरुले आफ्नो सहजताको लागि भारत र बंगलादेशमा रहेका विमानस्थलमा डाइभर्ट गर्ने गरेको बताउँछन्। जहाज डाइभर्ट वा डिले हुँदाको सम्पूर्ण खर्च सम्बन्धित एयरलाइन्सकै हुने भएकोले यात्रुहरुलाई सहजकताका लागि नजिकका विमानस्थलहरुमा रोज्ने गरेको हुन सक्ने उनले जनाएका छन्।
ती एयरलाइन्सले आफ्नो उडान जहाँजहाँ छ। तीनै विमानस्थललाई डाइभर्टको विकल्पको रुपमा राख्ने गरेका छन्। कतिपय अवस्थामा यात्रुहरुलाई होटलमा समेत राख्नुपर्ने स्थीति रहेकोले सम्बन्धित एयरलाइन्सले अधिकांश विमानस्थल नजिका होटलहरुमा सम्झौता गरिसकेको हुन्छ। पोखरा र भैरहवामा रहेको विमानस्थलमा अन्तर्राष्ट्रिय उडानहरु नभएको कारणले पनि एयरलाइन्सहले डाइभर्टको लागि भारत वा बंगलादेशमा पठाउने गरेको जनाइएको छ।