काठमाडौं। काठमाडौं उपत्यकामा तरकारीको मूल्य आकाशिएको छ। पछिल्लो समय प्रतिकुल मौसमका कारण परेको पानीले तरकारी बालीमा क्षति हुँदा मूल्य वृद्धि भएको हो। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको दैनिक मूल्य सूचीअनुसार तरकारीको होलसेल मूल्य वृद्धि भएको देखाएको छ।
एक महिनाअगाडि (असोज २२) गते गोलभेँडाको होलसेल मूल्य प्रतिकिलो १८ देखि ७३ रुपैयाँ थियो। तर, हालको मूल्य (कात्तिक २३) प्रतिकिलो ५० देखि ९५ रुपैयाँ पुगेको छ। अर्थात ३० देखि २४४ प्रतिशतले मूल्य वृद्धि भएको समितिको दैनिक मूल्य सूचीमा उल्लेख छ।
गोलभेँडाको मात्रै नभई आलुको मूल्य पनि बढेको छ। महिना दिनअगाडि प्रतिकिलो ३२ देखि ५२ रुपैयाँ पर्ने आलुको मूल्यमा वृद्धि भई हाल ४३ देखि ६५ रुपैयाँ प्रतिकिलो पुगको उल्लेख छ। समितिको दैनिक मूल्य सूचीअनुसार १० देखि ३५ प्रतिशतले मूल्य वृद्धि भएको छ। यस्तै, काउलीको होलसेल मूल्य पनि वृद्धि भएको छ।
महिना दिनअगावै ७५ रुपैयाँ प्रतिकिलो होलसेल पर्ने काउलीको मूल्य वृद्धि भएर ९५ रुपैयाँ पुगेको छ। अर्थात प्रतिकिलो २६ प्रतिशत होलसेल मूल्य वृद्धि भएको छ। यस्तै, करिब ३ प्रतिशतले प्रतिकिलो प्याजको होलसेल मूल्य वृद्धि भएको छ। महिना दिनअगावै ३६ रुपैयाँ प्रतिकिलो पर्ने प्याजको मूल्य वृद्धि भएर ३८ रुपैयाँ पुगेको छ।
पछिल्लो समय भएको वर्षाका कारणले विभिन्न क्षेत्रमा तरकारीसहित विभिन्न बालीमा क्षति भएको कृषि विभागले जनाएको छ।
यो त केवल तरकारीको होलसेल मूल्य हो। बाहिर यही तरकारी मूल्य थप बढी पाइएको छ। कंलकी बस्दै आएकी एलिना पाण्डेले प्रतिपाउ काउलीको मूल्यको ४० देखि ५० रुपैयाँ पर्ने बताइन्। काठमाडौं उपत्यकामा प्रतिपाउ दुई सय ग्रामलाई मान्ने गरेका छन्। यसलाई आधार मान्ने हो भने एक हजार ग्राम अर्थात एक किलो काउलीको मूल्य दुई सय देखि दुई सय ५० रुपैयाँ पर्न आउँछ। यस्तै, गोलभेँडाको मूल्य १८० रुपैयाँ प्रतिकिलो परेको सुनाइन्।
पछिल्लो समय भएको वर्षाका कारणले विभिन्न क्षेत्रमा तरकारीसहित विभिन्न बालीमा क्षति भएको कृषि विभागले जनाएको छ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशमा डुबान तथा कटानले तरकारीलगायत धान अलैची, केरा, अदुवा, आलु, चिया, कोदो, फलफूल, उखु, मकै, सुन्तला लगायत बाली क्षति भएको छ।
प्रदेशमा १० हजार ६८८ हेक्टर क्षेत्रफलमा क्षति पुगेको छ। यो क्षेत्रमा खेती गरिएको एक लाख ६२ हजार २० टन तरकारी लगायत विभिन्न बालीमा क्षति भएको छ। सरकारले यी चार प्रदेशमा मात्रै ३ अर्ब ३३ करोड ६६ लाख ६५ हजार रुपैयाँ क्षति भएको अनुमान गरेको छ। देशभर करिब ३ अर्ब ५५ करोड रुपैयाँको विभिन्न बालीमा क्षति भएको छ।
कालीमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार पछिल्लो समय तरकारीको मूल्य बढ्नुमा मुख्यतया दुई कारण रहेका छन्। पहिलो कारण हो मौसमी अन्तर। अहिले बर्खाको सिजनमा उत्पादन हुने तरकारीको सिजन सकिएको छ भने हिउँदमा प्रशस्त मात्रामा उत्पादन हुने तरकारी जस्तै काउली बजारमा आउन पर्याप्त मात्रामा तयार भइसकेका छैनन्। यसले गर्दा बजारमा आपूर्तिको कमी भएकाले मूल्य वृद्धि भएको श्रेष्ठले बताए।
यस्तै, दोस्रो कारण हो लम्बिएको वर्षादले पुर्याएको क्षति। यसपाली लामो समयसम्म पानी परिरहँदा धेरै स्थानमा तरकारी बाली डुबानमा परे र नष्ट भएका छन्। साथै, लगातारको वर्षाले नयाँ बाली लगाउन र पहिले लगाएको बालीलाई तयार हुन पनि ढिलो भयो। जसले बजारमा तरकारीको आपूर्तिको तालिका गडबड भएको श्रेष्ठले बताए।
फलस्वरुप, मागअनुसारको तरकारी उपलब्ध नहुँदा होलसेल र खुद्रा दुवै बजारमा मूल्य वृद्धि भएको भएको उनको तर्क छ।