काठमाडौं। साढे तीन अर्ब अर्थात तीन अर्ब ५० करोड लगानीमा बुटवलमा पहिलो पाँचतारे होटल ‘हायात प्लेस’ सञ्चालनमा आएको छ। कोभिड-१९ पछि उत्पन्न आर्थिक मन्दीका कारण निर्माणसँगै सञ्चालनमा ढिलाई भइरहेको होटल आइतबारदेखि सञ्चालनमा आएको हो।
कूल २५ कठ्ठा क्षेत्रफलमा फैलिएको होटलमा जमिनमुनि दुई तला पार्किङ र जमिनमाथि १० वटा तलामा ६ श्रेणीका कुल १०९ वटा कोठा रहेको होटल सञ्चालन समितिका अध्यक्ष चुन्नप्रसाद पौडेलले जानकारी दिए।
होटलमा रेस्टुरेन्ट, स्विमिङ पुल, ब्याङकेट हल, क्यासिनो, स्पा, चार वटा सेमिनार हल र अन्य सुविधाहरू छन। पाँच वर्षको मेहनतपछि निर्माण गरिएको होटलमा नेपाली परम्परागत वास्तुकला र बुद्ध जन्मस्थल लुम्बिनीको सम्पदासँग मेल खाने आधुनिक संरचना समेटिएको अध्यक्ष पौडेलले जानकारी दिए। होटलमा एक पटकमा २५० पाहुनालाई सुविधा दिन सकिने क्षमता रहेको छ।
होटल रुपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल र उमाशंकर मालपानी परिवारसँगै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकेको संयुक्त लगानीमा होटल स्थापना गरिएको हो।
सन् २००६ मा सुरु भएको हायात प्लेस हाल विश्वका ४२० भन्दा बढी स्थानमा फैलिएको छ। होटलमा पाहुनाका लागि सुत्न, काम गर्न र मनोरञ्जनका लागि छुट्टाछुट्टै सुविधा उपलब्ध छन्। यस होटलले बुटवल र पश्चिम नेपालको पर्यटन र व्यवसायिक वातावरणलाई नयाँ आयाम दिने अपेक्षा गरिएको छ।
होटल रुपन्देहीका प्रतिष्ठित उद्योगी पौडेल र उमाशंकर मालपानी परिवारसँगै ग्लोबल आईएमई बैंक र स्याफ्रोन सिकेको संयुक्त लगानीमा होटल स्थापना गरिएको हो।
होटल भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट २४ किलोमिटरको दुरीमा रहेको छ। नेपाल भारत सीमानाबाट बुटबलस्थित होटलमा पुग्न २६ किलोमिटर दुरी रहेको छ। होटल साइटमा प्रस्तावित बुटवल मण्डपको अगाडि १० हजार दर्शक क्षमताको अन्तर्राष्ट्रिय सम्मेलन तथा प्रदर्शनी केन्द्र रहेको छ।