काठमाडौं। नेपाल धितोपत्र बोर्ड (सेबोन)ले हालसम्म ६ वटा बैंकलाई अविमोच्य असञ्चिति अग्राधिकार सेयर जारी अनुमति दिएको छ। यसबाट पछिल्लो समय पुँजीकोषको दबाबमा रहेका बैंकलाई रकम जुटाउन सहयोग पुग्नेछ।
बैंक तथा वित्तीय संस्थाले राष्ट्र बैंकको स्वीकृतिपछि मात्रै सेबोनमा अग्राधिकार सेयर निष्कासन आवेदन दिन सक्ने प्रावधान छ। बैंक तथा वित्तीय संस्थाले अंकित मूल्य १०० रुपैयाँमा अग्राधिकार सेयर जारी गर्न पाउँछन्। अग्राधिकार सेयरको लाभांश मुनाफा भएको वर्षमा मात्र वितरण गरिन्छ।
बैंक तथा वित्तीय संस्थाले ५० जनाभन्दा कम हुने गरी संस्थागत लगानीकर्तालाई मात्र अग्राधिकार सेयर जारी गर्न पाउनेछन्। यसमा सर्वसाधारण लगानीकर्ता, धितोपत्र बोर्डबाट अनुमतिप्राप्त धितोपत्र व्यवसायी तथा सामूहिक लगानी कोषले लगानी गर्न पाउँदैनन्।
सेबोनले हालसम्म अग्राधिकार सेयर जारी अनुमति दिएका बैंकमध्ये ५ वटा वाणिज्य बैंक र एउटा विकास बैंक रहेको छ।
बोर्डले नबिल बैंकलाई ५ अर्ब रुपैयाँ बराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ। नबिलले १०० रुपैयाँ अंकित दरका कुल ५ करोड कित्ता अग्राधिकार सेयर बिक्री गर्नेछ।
यस्तै, सेबोनले सिद्धार्थ बैंकलाई ३ अर्ब ५० करोड, सानिमा बैंकलाई २ अर्ब, माछापुच्छ्रे बैंकलाई ३ अर्ब र कामना सेवा विकास बैंकलाई ३५ करोड रुपैयाँबराबरको अग्राधिकार सेयर जारी गर्न अनुमति दिएको छ।
एनएमबी बैंकले ३ अर्ब रुपैयाँबराबरको एनएमबी अविमोच्य अञ्चिति अग्राधिकार सेयर जारी गर्ने अनुमति पाएको छ। एनएमबीले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अग्राधिकार सेयर जारी गर्न स्वीकृति पाएको हो। बैंकको अग्राधिकार सेयर बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ।
यीमध्ये सिद्धार्थ, सानिमा र माछापुच्छ्रे बैंकको अग्राधिकार सेयरमा ८.५ प्रतिशत ब्याजदर रहेको छ भने कामना सेवा विकास बैंकको ९ प्रतिशत छ। यीमध्ये केही बैंकले अग्राधिकार सेयर बिक्री गरिसकेका छन् भने केहीले बिक्री तयारी गरेका छन्।