काठमाडौं। एपोलो हाइड्रोपावरले आजदेखि आईपीओ निष्कासन तथा बिक्री खुलाएको छ। कम्पनीले आयोजना प्रभावित स्थानीय तथा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ निष्कासन गरेको हो।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ५७ करोडको ३० प्रतिशत अर्थात् १४ करोड १० लाख रुपैयाँ बराबरको १४ लाख १० हजार कित्ता सेयर निष्कासन अनुमति पाएको छ। यसमध्ये ४ करोड ७० लाख रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ दरका ४ लाख ७० हजार कित्ता साधारण सेयर आयोजना प्रभावित स्थानीयका लागि निष्कासन गर्न लागेको हो।
आयोजना प्रभावितका लागि निष्कासन गरेको सेयरमध्ये ५० प्रतिशत अर्थात् २ लाख ३५ हजार कित्ता अति प्रभावित ओखलढुंगाको खिजिदेम्बा गाउँपालिका–७ र ८ का स्थानीयलाई बाँडफाँट गरिनेछ भने ३० प्रतिशत अर्थात् १ लाख ४१ हजार कित्ता मध्यम प्रभावित क्षेत्र अर्थात् सोलुखुम्बुको लिखुपिके गाउँपालिका–२ र रामेछापको उमाकुण्ड गाउँपालिका–३ का बासिन्दाका लागि बाँडफाँट गरिनेछ।
बाँकी २० प्रतिशत अर्थात् ९४ हजार कित्ता न्यून प्रभावित क्षेत्र रामेछापको उमाकुण्ड गाउँपालिका–२ र गोकुलगंगा गाउँपालिका–१ का स्थानीयमा बाँडफाँट गरिनेछ।
सर्वसाधारण लगानीकर्ताहरुका लागि छुट्याइएको सेयरको १० प्रतिशतले हुन आउने ९ लाख ४० हजार रुपैयाँबराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित दरका ९४ हजार कित्ता साधारण सेयर विदेश रोजगारीमा नेपालीका लागि निष्कासन गर्न लागेको हो।
आईपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने स्थानीयले अधिकतम ४७ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्। आयोजना प्रभावितका लागि निष्कासन बन्द छिटोमा फागुन २५ गते हुनेछ भने ढिलोमा चैत १० मा हुनेछ। त्यस्तै, वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन बन्द छिटोमा फागुन १४ र ढिलोमा फागुन २५ सम्म हुनेछ।
कम्पनीले सञ्चालन गरेको ६ मेगावाटको बुकु खोला जलविद्युत आयोजनाको कुल अनुमानित लागत १ अर्ब ३७ करोड २० लाख ३९ हजार रुपैयाँ छ भने प्रतिमेगावाट अनुमानित लागत २२ करोड ८६ लाख ७३ हजार रुपैयाँ छ। कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक हिमालयन क्यापिटल रहेको छ।