काठमाडौं। भदौ २३ र २४ को जेनजी आन्दोलनका क्रममा उच्छृंखल समूहबाट तोडफोड, लुटपाट र आगजनीमा परेको चुच्चेपाटीस्थित पाँचतारे हायात रिजेन्सी होटलले ट्रेड युनियनसँगको छलफल निष्कर्षविहीन भएपछि १३३ श्रमिक कटौतीको घोषणा गरेको छ।
होटलका मानव संसाधन विभाग महाप्रबन्धक आशीष कुमारका नाममा आज सार्वजनिक सूचनाअनुसार आगामी मंसिर २२ देखि श्रमिक कटौती निर्णय कार्यान्वयन हुनेछ। होटल मर्मतसम्भार सुरु भइसकेको र त्यसका लागि आर्थिक स्रोत जुटाएर खर्च व्यवस्थापन गर्नुपर्ने एवं यस अवधिमा सञ्चालनमा नरहेको होटलमा श्रमिकलाई काममा लगाउन असमर्थ रहेको हुँदा कार्यरत सबैलाई कटौती गर्ने निर्णय भएको आशीषले उल्लेख गरेका छन्।
सूचना प्रकाशित भएको मितिले ३० दिन अर्थात् आगामी मंसिर २२ देखि लागू हुने गरी होटलमा कार्यरत सबै १३३ श्रमिक कटौती गरिने उल्लेख छ। भदौ २३ र २४ गते आन्दोलनका क्रममा आपराधिक समूहले होटल परिसरमा प्रवेश गरी तोडफोड, लुटपाट र आगजनी गरेका थिए । उक्त घटनामा एक विदेशी पाहुनाले आगलागीबाट ज्यान जोगाउने क्रममा चौथो तलाबाट हाम फाल्दा गम्भीर घाइते भई उपचारका क्रममा मृत्यु भएको थियो।
आगलागी र तोडफोडका कारण होटलको भौतिक संरचना पूर्ण रूपमा नोक्सानमा परेको छ र अन्तर्राष्ट्रिय स्तरमा होटलको ख्यातिमा समेत नकारात्मक असर परेको सूचनामा भनिएको छ। ‘होटलको मर्मतसम्भार नगरी सञ्चालन गर्न सक्ने अवस्था नरहेकाले मर्मत अवधिभर कुनै आम्दानी नहुने र ठूलो आर्थिक चुनौतीको सामना गर्नुपर्ने अवस्थाका कारण श्रमिक कटौती गर्नुको विकल्प छैन,’ महाप्रबन्धक आशीषले भनेका छन्।
कोभिड–१९ महामारीका कारण लामो समय होटल तथा पर्यटन क्षेत्र प्रभावित भएको र हालै केही सुधारको संकेत देखिन थालेको अवस्थामा भदौ २४ को घटनाले होटललाई पुनः गम्भीर आर्थिक संकटमा पारेको होटल व्यवस्थापनको भनाइ छ।
होटलको मर्मतसम्भारका लागि करोडौं रकम लाग्ने र मर्मत अवधिभर होटलको कुनै आम्दानीको स्रोतसमेत नहुने भएकाले प्रतिष्ठानलाई विगतको भन्दा ठूलो आर्थिक चुनौती थपिएको सूचनामा उल्लेख छ।
श्रमिक व्यवस्थापनका विषयमा होटलमा सक्रिय ट्रेड युनियनसँग छलफल गरे पनि ठोस निष्कर्षमा पुग्न नसकिएको हायातले बताएको छ। होटल हाल बन्द छ।
