काठमाडाैं। चौथो लायन्स कप गर्ल्स फुटसल प्रतियोगिताको उपाधि महेन्द्र आदर्श स्कुलले हात पारेको छ। लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्डसद्वारा आयोजित प्रतियोगिताको फाइनल खेलमा महेन्द्र आदर्श स्कुलले महालक्ष्मी स्कुललाई पेनाल्टी सुटआउटमा पराजित गर्दै विजेता बनेको हो।
निर्धारित समयमा खेल गोलरहित बराबरीमा टुंगिएको थियो। कात्तिक २४ गतेदेखि सुरु भई कात्तिक २६ गते सम्पन्न उक्त प्रतियोगितामा कुल १७ वटा विद्यालय सहभागी थिए। भ्याली पब्लिक स्कुल तेस्रो र विश्वामित्र गणेश माध्यमिक विद्यालय चौथो स्थानमा रहेका थिए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी महेन्द्र आदर्शकी करीना तामाङ घोषित भइन् भने सर्वाधिक गोलकर्ता मिन्जल लामा बनिन्। पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि महालक्ष्मी नगरपालिकाकी उप–प्रमुख लक्ष्मी महर्जन, लायन्स क्लबका डिस्ट्रीक्ट गभर्नर लायन महेश आचार्य, लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्ड्सकी अध्यक्ष सृष्टि बज्राचार्य, तथा डिस्ट्रीक्ट चिफ स्पोर्ट्स तथा रोड सेफ्टीका लायन दिप्रश शाक्यले विजयी विद्यालय र खेलाडीहरूलाई ट्रफी, मेडल, प्रमाणपत्रका साथै केड कम्पनीद्वारा प्रदान गरिएको स्कुल ब्याग, स्टेशनरी लगायतका उपहार वितरण गरेका थिए।
फाइनल खेलमा लायन्स क्लबका प्रथम भाइस डिस्ट्रीक्ट गभर्नर लायन योगराज कडेल शर्मा, जोन चेयर पर्सन लायन बिनोद गौचन, कार्यक्रम संयोजक लायन सरु महर्जन लगायत क्लबका पदाधिकारी तथा सदस्यहरूको उपस्थिति रहेको थियो।
लायन्स क्लब अफ ललितपुर रोयल फ्रेन्ड्सले प्रत्येक वर्ष ‘गर्ल्स फुटसल कप’ आयोजना गर्दै आएको छ। क्लबका अनुसार महिलालाई खेलकुदमा सक्रिय सहभागी गराउँदै उनीहरूमा रहेको क्षमता प्रस्फुटन गर्न र महिला सशक्तीकरणमा योगदान पुर्याउने उद्देश्य यस प्रतियोगितामागि रहेको छ।