काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सपथ ग्रहण गरेलगत्तै नेपाल उद्योग वाणिज्य महासंघको टोलीसँगको भेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्धता जनाएका थिए। अर्थमन्त्री वाग्लेले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को भनाइलाई उदृत गर्दै निजी क्षेत्रको व्यक्तिहरुलाई पहिला सुन्ने अनि मात्र थुन्ने नीति रहेको बताएका थिए।
महासंघको टिमले यसअघिका सरकारले धेरै व्यवसायीलाई धरपकड गरेको भन्दै आरोप लाग्ने बित्तिकै थुन्नेभन्दा सुन्ने व्यवस्था गरी छानविन गरेर दोषी देखिए थुन्ने व्यवस्था गर्न अर्थमन्त्री वाग्लेसँग प्रस्ताव राखेका थिए। महासंघको टिमको अनुरोधपछि अर्थमन्त्रीले निजी क्षेत्र निर्धक्क भएर काम गर्न निर्देशन दिँदै अनावश्यक रुपमा उद्योगी व्यवसायीहरुलाई धरपकड र नियन्त्रण नगर्ने प्रतिबद्धता जनाएका थिए।
तर, उनको प्रतिबद्धतामा मात्र सिमित भएको छ। महासंघका एक पदाधिकारीका अनुसार अर्थमन्त्रीको प्रतिबद्धतापछि निजी क्षेत्र केही मात्रामा ढुक्क भइरहेको अवस्थामा पछिल्लो समयको धरपकडले थप त्रास बढाएको छ। सरकारले बिहीबार मात्र नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष एवं गोल्छा अर्गनाइजेशसनका प्रबन्ध निर्देशक शेखर गोल्छालाई पक्राउ गरेपछि निजी क्षेत्रमा थप त्रास बढेको हो।
मुलुकमा अर्थतन्त्र सुस्ताइरहेको बेला निजी क्षेत्रलाई साथमा लिएर काम गर्नुपर्ने बेला उल्टै धमाधम पक्राउ गर्न थालेपछि मुलुकभित्र रोजगारी सिर्जना गर्ने बाटो बन्द हुने स्थितिमा पुगेका एक प्रतिष्ठित उद्योगीको भनाइ छ। कुनै व्यवसायीले गल्ती गरे पनि त्यसभित्रको हात सरकारी कर्मचारीहरु र नेताको पनि हुने गरेको बताउँदै एकोहोरो रुपमा व्यवसायीलाई मात्र दोषी देखाएर लगानीको वातावरणनै बिगारिरहेको ती उद्योगीको भनाइ छ।
सोधखोज र अनुसन्धान नगरी सरकारले धमाधम व्यवसायी पक्राउ गर्न थालेमा व्यवसायीहरु नेपालबाट पलायन हुने स्थिति आउन सक्ने भएकाले सरकारले यो विषयमा ध्यान दिन आवश्यक रहेको व्यवसायीहरुको भनाइ छ। कतिपय अवस्थामा पक्राउ नगरी अनुसन्धान गरी दण्ड जरिवाना गर्ने ठाउँ हुँदा पनि लोकप्रियताका लागि अहिलेको सरकारले पक्राउलाई मुख्य ध्यानमा राख्दा व्यवसायी वृत्तमा नकरात्मक सन्देश गएको ती व्यवसायीहरुको भनाइ छ।
अहिलेको अवस्था हेर्दा धेरै उद्योगी व्यवसायीहरु पक्राउ पर्ने स्थिति रहेकोले दोस्रो र तेस्रो पुस्ताका व्यवसायीहरुले नेपालमा लगानी गर्न र बस्न चाहनेहको संख्या घट्न सक्ने ती व्यवसायीहरुको भनाइ छ। केही समयअघि मात्र शंकर ग्रुपका अध्यक्ष शंकर अग्रवाललाई पक्राउ गरी दुई दिनपछि रिहाई गरेको थियो। यस्तै शंकर ग्रुपका शुलभ अग्रवाल र अर्का साझेदार दिपक भट्टलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको छ।