काठमाडौं । सरकारले दुधलाई अतिआवश्यकीय बस्तु भित्र समेटे पनि प्रहरी प्रशासनले भने ढुवानीमा समस्या दिदै आएको छ । पछिल्ला केही दिनयता दूध ढुवानी गर्ने ट्यांकरलाई रोक्नेदेखि चालकलाई कुटपिटसम्म गरेको गुनासो बढ्न थालेको छ ।
सरकारले नै अतिआवश्यकीय बस्तु भित्र दूधलाई राखेको कारण हामीले जोखिम मोलेर किसानका दूध उठाइरहेका छौं, एक डेरी सञ्चालकले भने, तर प्रहरी प्रशासनको धरपकडले हामी समस्यामा छौं । केही दिनअघि विभिन्न डेरीका ट्यांकरहरु नारायणघाट र मुग्लिनमा ५ घण्टा प्रहरीले रोकेको थियो ।
त्यति मात्र हैन, दुग्ध विकास संस्थान(डीडीसी)को दूध कोहलरपुस्थित नेपालगन्ज दुग्ध वितरण आयोजनाबाट शुक्रबार साँझ ६ बजे सुर्खेत लैजाँदै गरेको ४ हजार ७५० लिटर दूध बबईमा प्रहरीले फिर्ता गरायो । डीडीसीको सो दूध वीरेन्द्रनगरको औधोगिक क्षेत्रमा रहेको सुर्खेत डेरीले बिक्रीका लागि लगेको थियो ।
नेपाल डेरी एशोसिएसनका अध्यक्ष राधाकृष्ण सापकोटाले अतिआवश्यक बस्तुको रुपमा दूधलाई राखे पनि प्रहरी प्रशासन र नेपाली सेनाले अवरोध गरिरहेको बताए । कोरोना भाइरसका संक्रमण बढिरहेको बेला डेरी सञ्चालक र श्रमिकले जोखिम मोलेर काम गर्दा सरकारले सहयोग गर्नुपर्ने ठाउँमा विभिन्न समयमा अवरोधहरु पुर्याउने काम गर्नु गलत भएको उनको भनाई छ ।
किसानले उत्पादन गरेको दूध डेरीसम्म र डेरीबाट बजारसम्म लैजाने सहज वातावरण नभएकै कारण अहिले डेरी सञ्चालकहरु समस्यामा परेको उनले बताए । एकातिर बजार बन्द हुदा दूध खपतमा कमी आउदा समस्यामा परिरहेका डेरी सञ्चालकलाई प्रहरी प्रशासनले पनि ठाउँ ठाउँमा अवरोध गर्नु गलत भएको उनको भनाई छ ।
यस्तै उत्पादन गरिएको दूधलाई बजारमा बिक्री गर्न समेत निकै समस्या छ । बजारमा पसलहरु केहि घण्टामा मात्र खोल्ने र त्यसमा पनि प्रहरी प्रशासनको हस्तक्षेप हुने भएकोल थप समस्या भएको डेरी सञ्चालकहरुको भनाई छ ।
पशुसेवा विभागका महानिर्देशक वंशी मिश्रले दुध बोक्ने ट्यांकरलाई कहि पनि रोक नभएको बताएका छन् । दुध बोक्न ट्यांकरमा आवश्यक भन्दा बढी मानिसहरु राखेको देखेपछि प्रहरीले रोकेको हो,तर दुध ढुवानीमा कुनै समस्या छैन । कहि कतै रोकिएमा मलाई फोन गर्नुहोला,म तत्कालै छोड्न लगाउछु,कही कतै समन्वयको अभावले समस्या भएको हुन सक्छ’,उनले भने ।
बजारमा दूध खपत कम भएपछि अहिले अधिकाशं डेरीहरु १० देखी १५ प्रतिशत मात्र सञ्चालनमा आएका छन् । अहिले डेरी उद्योगमा प्रत्यक्ष रुपमा ३० हजार भन्दा बढिले रोजगारी पाइरहेका छन् ।
त्यहाँ आबद्ध श्रमिकहरुले चैत्र महिनाको तलब पाए पनि बैशाखदेखि कसरी तलब खुवाउने भन्ने चिन्ता बढ्न थालेको सीताराम डेरीका सञ्चालक सुमित केडियाको भनाई छ ।
सरकारले पानी र दूधलाई अतिआवश्कीय बस्तुभित्र समेटे पनि श्रमिकहरुलाई र बजारमा दुग्धजन्य सामाग्रीहरुलाई कसरी सुरक्षित तवरले पठाउने भन्ने गाइडलाइन नहुँदा समस्या भएको सञ्चालक केडिया बताउन् ।