काठमाडौं। चालु आर्थिक वर्षको पहिलो ३ महिनामा देशको शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब रुपैयाँ बढीले बचतमा रहेको छ। गत वर्षको सोहीअवधिको तुलनामा यस्तो बचत ७९ अर्ब रुपैयाँले बढी हो।
नेपाल राष्ट्र बैंकद्वारा प्रकाशित देशको वर्तमान आर्थिक तथा वित्तीय अवस्थाको प्रतिवेदनअनुसार चालु वर्षको चालु वर्षको ३ महिना (असोज मसान्तसम्म) शोधनान्तर स्थिति २ खर्ब ६४ अर्ब ३ करोडले बचतमा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा शोधनान्तर १ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँले बचतमा रहेको थियो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो बचत अमेरिकी डलरमा १ अर्ब ३८ करोड रहेकोमा समीक्षा अवधिमा १ अर्ब ८८ करोड रहेको छ।
समीक्षा अवधिमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा उल्लेख्य रूपमा सुधार भएको छ। २०८२ असोज मसान्तसम्मको तीन महिनाको अवधिमा शोधनान्तर बचत २ खर्ब ६४ अर्ब ३ करोड रुपैयाँ पुगेको छ, जुन अघिल्लो वर्षको सोही अवधि (१ खर्ब ८४ अर्ब ९९ करोड रुपैयाँ) को तुलनामा रु.७९ अर्ब ४ करोडले बढी हो। चालु खातामा भएको ठूलो बचत (२ खर्ब ३७ अर्ब ५९ करोड) ले शोधनान्तरमा यो सकारात्मक प्रभाव पारेको र यसमा विशेषगरी रेमिट्यान्सको बलियो आप्रवाह प्रमुख कारण रहेको देखिन्छ।
आर्थिक वर्ष २०८२/८३ को तीन महिनामा रेमिट्यान्स आप्रवाह ३५.४ प्रतिशतले वृद्धि भई ५ खर्ब ५३ अर्ब ३१ करोड रुपैयाँ पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा रेमिट्यान्स आप्रवाह ११.९ प्रतिशतले बढेको थियो। २०८२ असोज महिनाको नेपालमा २ खर्ब १ अर्ब २२ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको छ। अघिल्लो वर्षको सोही महिनामा १ खर्ब ४४ अर्ब १७ करोड रुपैयाँ रेमिट्यान्स नेपाल भित्रिएको थियो।
योसँगै शोधनान्तर बचतमा आएको यो सुधार चालु खातामा देखिएको अत्यधिक बचतको परिणाम हो। समीक्षा अवधिमा चालु खाता २ खर्ब ३७ अर्ब ५९ करोडले बचत मा रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा चालु खाता १ खर्ब १५ अर्ब ३६ करोड रुपैयाँले बचतमा थियो। अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ८६ करोडले बचतमा रहेको चालु खाता समीक्षा अवधिमा १ अर्ब ६९ करोडले बचतमा रहेको छ ।
समीक्षा अवधिमा खुद पुँजीगत ट्रान्सफर ५ अर्ब ५५ करोड रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर २ अर्ब रहेको थियो । यसैगरी, समीक्षा अवधिमा १ अर्ब ७४ करोड रुपैयाँ प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) भित्रिएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो प्रत्यक्ष वैदेशिक लगानी (इक्विटी मात्र) अर्ब ८१ करोड रुपैयाँ रहेको थियो।