काठमाडौं। नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आजदेखि कीर्तिपुरस्थित क्रिेकेट मैदानमा सुरु हुँदै छ।
मंसिर १ देखि २७ सम्म आयोजना हुने एनपीएल २ मा आठ फ्रेन्चाइजी टोलीले स्पर्धा गर्नेछन् भने यसपटक फ्लडलाइटमा खेलाइने आयोजक नेपाल क्रिकेट संघ (क्यान)ले जनाएको छ।
आजको पहिलो खेल काठमाडौं गोर्खाज र जनकपुर बोल्ट्सबीच हुनेछ।
प्रतियोगितामा गत संस्करणमै खेलेका आठ टोली क्रमशः गत वर्षको उपाधि विजेता जनकपुर बोल्ट्स, उपविजेता सुदूरपश्चिम रोयल्ससँगै कर्णाली याक्स, पोखरा एभेन्जर्स, काठमाडौं गोर्खाज, विराटनगर किंग्स, लुम्बिनी लायन्स र चितवन राइनोजले प्रतिस्पर्धा गर्नेछन्।
एनपीएल सिजन२ मा स्वदेश र विदेशका चर्चित अनुहारले पनि खेल्ने हुँदा थप उत्साह थपिएको क्यान सचिव पारस खड्काले बताएका छन्। यसपटक फ्लडलाइटमा खेल सञ्चालन हुनेछन्।
नयाँ निर्माण भएको प्याराफिटमा बसेर दर्शकले खेलको मजा लिने हुँदा एनपीएल २ निकै रोमाञ्चक र ऐतिहासिक बन्ने निश्चित छ।गत संस्करणमा प्यारापिट नहुँदा पनि दर्शकले प्रतियोगितालाई निकै मन पराएको थिए।
क्यानले पहिलो संस्करणको एनपीएलबाट २७ करोड बढी आम्दानी गरेको थियो भने यसपटक ३८ करोड अनुमान गरेको क्यान कोषाध्यक्ष पदमबहादुर खड्काले बताए।
यसपटकको खेलडमा चर्चित विदेशी खेलाडीको सहभागिता रहनेछ। सबैभन्दा चर्चित खेलाडी दक्षिण अफ्रिकाका फाफ डु प्लेसिस हुन्। उनी विराटनगर किंग्सबाट खेल्नेछन्।
डु प्लेसिस अन्तर्राष्ट्रिय क्रिकेटमा सबैभन्दा सफल ब्याटरमध्येमा पर्छन्। दक्षिण अफ्रिकाबाटै सानदार बलिङ गरेका इमरान ताहिरले पनि यसपटक खेल्दैछन्। उनले च्याम्पियन जनकपुर बोल्ट्सबाट खेल्नेछन्।
पहिलो संस्करणमा अत्यधिक मन पराइएका न्युजिल्यान्डका जिमी निसामले पनि खेल्नेछन्। गत संस्करणमा उनले जनकपुर बोल्ट्सलाई उपाधि दिलाउन ठूलो मिहिनेत गरेका थिए।
तर, यसपालि उनी पोखरा एभेन्जर्सबाट खेल्दै छन्। यस्तै, चर्चित क्रिकेटर जेसन रोयले पनि पोखरा एभेन्जर्सबाटै खेल्दै छन्।
आजको टिकट सोल्डआउट
आजदेखि सुरु हुने एनपीएल सिजन २ का लागि टिकट भने सबै बिक्री भएको क्यानले जनाएको छ। त्रिवि क्रिकेट रंगशालाको दर्शक क्षमता ९ हजार ४५० रहेकाले सोहीअनुसार टिकट बिक्री गरिएको र सोमबारका लागि सकिएको क्यानका सचिव खड्काले बताए।
प्रतियोगिताका विजेता टोलीलाई पुरस्कारस्वरूप एक करोड १० लाख प्रदान गरिनेछ। त्यसैगरी प्रतियोगिताको उपविजेता टोलीले ५१ लाख र तेस्रो स्थान हासिल गर्नेले २५ लाख तथा चौथो हुनेले १५ लाख प्राप्त गर्नेछ।
एनपीएल २ का सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछन्। क्यानले यस पटक दैनिक ९ हजार ४५० टिकट बिक्री गर्ने जनाएको छ। पहिलो दिनको खेलको टिकट दुई दिन अगाडि नै बिक्री भइसकेको छ। उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ एक हजार ५०० राखिएको छ। लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य ५०० र १ हजार तोकिएको छ।