काठमाडौं। क्रिकेटप्रेमीका लागि आज अर्थात मंसिर १ गतेदेखि दोस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल)ले थप रौनक थपेको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुने उद्घाटन खेलमा साविक विजेता जनकपुर बोल्ट्ससँग काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दै छ।
भौतिक संरचनाविना सम्पन्न पहिलो सिजनको तुलनामा यो वर्ष सुविधा सम्पन्न रंगशाला तयार हुँदा खेलाडीदेखि दर्शकसम्म रौनक थपिएको छ। एनपीएलको महत्वसँगै खेलाडीदेखि दर्शकसम्म उत्साह भरिएको छ।
सिजनको पहिलो खेलका हेर्न क्रिकेट मैदानमा दर्शकहरूको चहलपहल बढेको छ। क्रिकेट मैदानको दर्शकदीर्घाले भरिँदै गएको छ। सुरक्षा व्यवस्थालाई चुस्त दुरुस्त बनाउन सरकारले राम्रो व्यवस्था गरेको छ। यो सिजनको एनपीएलको खेलहरू नेपाली क्रिकेट इतिहासमै पहिलो पटक फ्लडलाइटमा पनि हुने भएको छ।
एनपीएलको खेल सुरु भएसँगै नेपाल क्रिकेट संघ क्यानमा सचिव पारस खड्काले सजग भएर खेल हेर्न आग्रह गरेका छन्। उनले टिकट भएकाहरू मात्रै मैदान गएर खेल आग्रह गर्दै बाँकी दर्शकलाई घरमा बसेर साथ दिन आग्रह गरे।
-1763375606.jpg)
‘एनपीएलको पहिलो दिनको टिकट सकिसकेको छ। टिकट नभएकाहरू ग्राउण्डमा आएर हुलमुल नगरिदिनुहुन आग्रह गर्दछु,’ सचिव खड्काले भने, ‘टिकट नहुनेहरूले घरमै बसेर खेल हेरेर साथ सहयोग गरिदिन आग्रह गर्दछु।’
एक सन्देश जारी गर्दै सचिव खड्काले नेपाली क्रिकेट विश्वभरबाट हेर्ने भएकाले सकारात्मक सन्देश दिन सक्नुपर्ने बताए। उनले आगमी दिनमा विश्वका ठूला-ठूला खेलाडीलाई नेपालमा ल्याएर खेलाउने गरी वातावरण बनाउनु सक्नुपर्ने धारणा राखेका थिए।
३५ करोडभन्दा बढी रकम उठ्ने आंकलन
एनपीएलको दोस्रो सिजनमा ३५ करोडभन्दा बढी रकम संकलन हुने क्यानले जनाएको छ। शनिबार पत्रकार सम्मेलन गर्दै क्यानका सचिव खड्काले दोस्रो सिजनमा स्पोन्सर, टिम, टिकटबाट ३५ करोडभन्दा बढी रकम उठ्ने अनुमान भएको जानकारी दिएका थिए।
उनका अनुसार स्पोन्सरबाट १५ करोड ३० लाख र ८ टीमबाट ९ करोड उठ्ने जानकारी दिए। टिकटबाट ८ देखि १२ करोड उठ्ने उनको भनाइ थियो।

यस्तै, उनले ओटीटीबाट पाँच करोड ३० लाख कटाएर बाँकी रकमको ७१ प्रतिशत क्यानले पाउने जानकारी दिए।
टिकटको मूल्य दुई हजार रुपैयाँसम्म
एनपीएल टिकटको न्यूनतम मूल्य पाँच सय रुपैयाँ राखिएको छ। टिकटको मूल्य सार्वजनिक गर्दै पहिलो चरणमा ६ दिनको खेलका लागि टिकट बिक्री सुरु गरेको हो। जसमा पहिलो खेलको पूरै टिकट बिक्री भएको थियो।
उद्घाटन र शनिबारको टिकट मूल्य साधारणतर्फ पाँच सय रुपैयाँ कायम गरिएको छ। यस्तै उद्घाटन र शनिबारको प्रिमियम टिकट मूल्य १५ सय रुपैयाँ राखिएको छ।
अन्य दिनको समूह चरणको खेलको टिकट मूल्य साधारणतर्फ ५ सय र प्रिमियमतर्फ एक हजार रुपैयाँ छ। प्लेअफ र फाइनलको साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रूपैयाँ टिकट रहेको छ। पूरै खेल सिजनभरिको पास किन्न चाहनेका लागि १५ हजार रूपैयाँ मूल्य तोकिएको छ।

यस पटक रंगशालामा जाने झण्डै १० हजार दर्शकले सिटमा बसेर प्रतियोगिता हेर्न पाउने भएका छन्। यसअघि भएका खेलहरूमा दर्शकले चौरमा बसेर हेर्दै आएका थिए। यस्तै, टिकट नपाएका दर्शकले रुखमा बसेर समेत खेल हेर्न बाध्य भएका थिए।
रंगशालादेखि होटलसम्म व्यापार
२८ दिनसम्म चल्ने एनपीएलका खेल सुरु भएसँगै सानादेखि ठूला होटलसम्म व्यापार बढ्ने भएको छ। रंगशालामा साना व्यापारीहरूले दर्शकलाई पानीदेखि विभिन्न खाने वस्तु बेचेर व्यापार गरिरहेका छन्।
यता, फ्रेञ्चाइज टोलीले ठूलो मात्रामा विदेशी खेलाडी भित्र्याउँदै आफ्ना खेलाडीलाई विभिन्न होटलमा राखेका छन्। यसले होटलको व्यवसायमा थप टेवा पुग्ने छ।
यस्तै, काठमाडौं उपत्यकाबाहिर र विदेशबाट आएका दर्शकहरू होटलमा बस्ने भएकाले एनपीएलले होटल व्यवसायलाई केही मात्रामा राहत पुर्याएको छ।



