काठमाडाैं। दोलखाकाे भिमेश्वर नगरपालिकाभित्रका धेरै सरकारी विद्यालय विद्यार्थी अभावका कारण कन्तबिजोग अवस्थामा पुगेका छन्। सदरमुकाम नजिकैका विद्यालयमै विद्यार्थी नहुँदा शिक्षकहरू हाजिर मात्रै गरेर तलब बुझिरहेको तथ्य सतहमा आएको छ।
बिसुनटोल आधारभूत विद्यालयमा तीन जना शिक्षक वर्षौँदेखि विद्यार्थी बिना नै हाजिर गर्ने, भवन हेरचाहबाहेक कुनै कार्य नभएको स्थानीयले बताएका छन्। लाकुरीडाँडा प्रावि र माथिल्लो माटी प्राविमा पनि विद्यार्थी नहुँदा तीन–तीन जना शिक्षक नियमित हाजिर भएर बस्ने मात्रै गरेका छन्।
भुमरेडाँडा प्राविमा त तीन शिक्षकबीच दुई जना मात्र बालकक्षा विद्यार्थी रहेका छन्। उनीहरूलाई पढाउनेभन्दा शिक्षक भवनमै बसेर राज्यले दिने सेवा–सुविधा लिँदै आएको स्थानीयको भनाइ छ।
नगरपालिकाले विद्यालयको दरबन्दी तथा जनशक्ति व्यवस्थापन मिलाउन नसक्दा धेरै शिक्षक कामविहीन बनेका हुन्। पृथ्बीनारायण आधारभूत, महांकाल आधारभूत र महेन्द्रोय मावि (भिनपा–५) मा पनि विद्यार्थीभन्दा शिक्षकको संख्या धेरै भएको र केही शिक्षक निष्क्रिय बस्न बाध्य भएको स्थानीयको गुनासो छ।
यता, राजनीतिक आडमा शिक्षकले सरुवा अस्वीकार गर्ने र नगरपालिकाका निर्णय अवहेलना गरिने समस्या झनै चर्किँदै गएको छ। कुटिडाँडा माविमा प्रधानाध्यापक शंकरलाल श्रेष्ठको अवकाशपछि पठाइएकी एक शिक्षिका दलिय दबाबमा सरुवा भएको विद्यालयमा नपुगेपछि तलब भने पुरानै कार्यस्थल महेन्द्रोय माविबाट नै भुक्तानी भइरहेको खुलेको छ, जुन स्पष्ट रूपमा नियमविरुद्ध हो।
क्षमावती माविमा दरबन्दीका शिक्षकलाई अन्यत्र सरुवा गर्दा नगरपालिकाले सो विद्यालयलाई ६ लाख रुपैयाँ ‘सोधभर्ना’ गरेको तथ्य पनि बाहिरिएको छ। नगरपालिकाकै पुराना ठूला विद्यालयहरूमा समेत विद्यार्थी अत्यन्त कम र शिक्षक धेरै हुने समस्या देखिएको छ।
सर्ब माविमा त एक शिक्षक जम्मा दुई विद्यार्थीका लागि परेको अवस्था स्थानीयले बताएका छन्। भिमेश्वर नगरपालिकाका शिक्षा शाखा प्रमुख तथा उपशिक्षा निर्देशक अर्जुन कार्कीले विद्यालय ‘शून्य विद्यार्थी’ नभए पनि अत्यन्त कम विद्यार्थी भएको स्वीकार गरे।
उनका अनुसार एकीकृत विद्यालय सूचना प्रणालीमा देखिएका विद्यार्थी संख्या र फिल्डमा भेटिने वास्तविकता फरक भएको र सो विषयमा छिट्टै बैठक बसेर विद्यालय गाभ्नेरमर्ज गर्ने विषयमा निर्णय हुने बताए। कार्कीले भने, ‘डेटामा विद्यार्थी देखिन्छन्, तर फिल्डमा संख्या निकै कम छ। चाँडै बैठक राखेर अन्तिम टुंगाेमा पुग्छौँ।’