नवलपरासी। गत भदौ २४ मा भएको जेनजी आन्दोलनका क्रममा तोडफोड र आगजनीबाट बन्द मौलाकाली केबलकार पुनःसञ्चालनमा आएको छ। जेनजी आन्दोलनकारीबाट आगलागी र तोडफोड गरिएपछि बन्द केबलकार दुई महिनापछि परीक्षण सञ्चालन सफल भएको हो।
मौलाकाली केबलकारका स्टेसन म्यानेजर सुरज पौडेलले आइतबार साँझ गरिएको प्राविधिक परीक्षण सफल भएपछि चाँडै केबलकार नियमित सञ्चालन गर्ने तयारी गरिएको बताए।
केबलकारको अझै केही दिन प्राविधिक परीक्षण गर्ने कुनै समस्या नआए केही दिनभित्रै सर्वसाधारणका लागि खुला गरिने पौडेलको भनाइ छ। गैँडाकोट–१ मा रहेको ऐतिहासिक धार्मिकस्थल मौलाकालिका मन्दिरलाई लक्षित गरी गत वर्षको वैशाखबाट सञ्चालनमा आएको केबलकार जेनजी आन्दोलनका क्रममा आगजनी र तोडफोडपछि बन्द भएको थियो।
प्राविधिक परीक्षणपछि क्षतिग्रस्त उपकरणको कमजोरी पहिचान गरी आवश्यक मर्मतसम्भार गरेपछि केबलकार सञ्चालन गरिएको पौडेलले बताए। केबलकारको आन्तरिक परीक्षणपश्चात् सबै ‘सिस्टम’ले स्थिर रूपमा काम गरिरहेको पुष्टि भएसँगै अब केही दिनभित्रै सर्वसाधारणका लागि औपचारिक सञ्चालन गर्ने तयारी गरिएको पौडेलको भनाइ छ।
मौलाकाली केबलकारका अध्यक्ष एवं नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले जेनजी आन्दोलनका क्रममा केबलकारमा भएको आगजनी र तोडफोडका कारण ठूलो क्षति पुगेको बताए। आगजनी र तोडफोडबाट केबलकार संरचना तथा उपकरणमा करोडौं रुपैयाँ बराबरको क्षति पुगेको उनको भनाइ छ।
जेनजी आन्दोलनपछि केबलकार बन्द हुँदा मौलाकालिका मन्दिर आउने भक्तजनको संख्यामा कमी आएको जनाइएको छ। धार्मिक सेवा समिति मौलाकालिका मन्दिरका अध्यक्ष शालिकराम सापकोटाका अनुसार पछिल्लो समय मन्दिरमा भक्तजनको उपस्थिति न्यून छ।
पछिल्लो समय यस मन्दिरमा धार्मिकसँगै प्रकृतिमा रमाउने पर्यटक आउने गरेको सापकोटाले बताए। समुद्री सतहबाट ५६१ मिटर उचाइमा रहेको मौलाकालिका मन्दिर नारायणघाट बजारबाट पाँच किलोमिटर पश्चिम उत्तरमा पर्छ।