गण्डकी। पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट आजदेखि भुटान सीधा उडान सुरु भएको छ। युनिभर्सल टुर्स एण्ड ट्राभल (यूटीटी)ले यसअघि नै गत असोज १२ (२८ सेप्टेम्बर)देखि चार वटा चार्टर उडान गर्ने जनाए पनि उक्त उडान विभिन्न कारणले हुन नसकेको अवस्थामा आजदेखि उडान थालिएको हो।
यसअघि असोज १२ सहित १६, २० र २४ गते उडान गर्नेगरी तालिकासमेत तय गरिएको थियो। भुटान एयरको पोखरा–पारो (भुटान) सीधा उडान आज पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट औपचारिक रुपमा शुभारम्भ भएको पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले बताए।
भुटान एयर र नेपालस्थित प्रतिनिधि युनभर्सल टुर्स एण्ड ट्राभल्सको निमन्त्रणामा आफू पहिलो उडानमार्फत थिम्पु पुुगेको जानकारी दिँदै महानगरका प्रमुख आचार्यले भने, “भुटानस्थित पारो अन्तरराष्ट्रिय विमानस्थलबाट पोखरा खाली आएको विमानले पोखराबाट नौ जना पाहुना तथा क्रु मेम्बरसहित पारो विमानस्थलमामा सुरक्षित अवतरण गरेको छ। आज केही प्राविधिक कारणले पूर्व निर्धारित टिमसहितको यात्रा हुन नसके पनि, छिट्टै नियमित उडान सञ्चालन हुने अपेक्षा राखेको छु।”
भुटान एयरलाइन्स र युनभर्सल टुर्स एण्ड ट्राभल्सले यसअघि गरेको प्रतिबद्धता निकट भविष्यमै नियमित उडानमा पूरा हुने उनले विश्वास व्यक्त गरे।
अक्टोबरदेखि सुरु हुने बताइएको पूर्वनिर्धारित कार्यक्रम नेपालमा भएको अघिल्लो आन्दोलनका कारण पुनतालिकीकरण भएको र आज पहिलो उडान सफलतापूर्वक शुभारम्भ भएको उल्लेख गर्दै उनले बाँकी नियमित सीधा उडान २०२६ अप्रिलदेखि पुनः सुरु हुने भुटान एयरलाइन्सबाट जानकारी प्राप्त भएको बताए।
भुटान एयरलायन्स एक सय २६ सिट क्षमताको हो । ट्राभल्सले चार्टर उडानसहित ट्राभल्स प्याकेजसमेत बनाएको छ। सो प्याकेज चार रात र पाँच दिनको रहेको छ। पोखरादेखि भुटान र भुटानदेखि पोखराको सीधा उडान सुरु हुनुले दुवै देशको पर्यटन प्रवर्द्धन सहयोग पुग्ने पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारी बताउँछन्।