काठमाडौं। आज मार्ग शीर्ष कृष्ण चतुर्दशी अर्थात् बालाचतुर्दशी। बलचतुर्दशीका दिन पशुपतिनाथसहित देशभरका शिवालयमा दिवंगत पितृको सम्झनामा सद्गतिको कामना गरी शतबीज छर्ने सांस्कृतिक परम्परा रहिआएको छ।
मंगलबार रातभर दीपदान गरी बसेका भक्तजनले बुधबार बिहानै दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज छरी बालाचतुर्दशी पर्व मनाउँछन्।
शतबजी छर्न पशुपतिनाथलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ।
प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बालाचतुर्दशी पर्व मनाउन देशका विभिन्न स्थानबाट भक्तजन पशुपतिमा आउँछन्।
बाला चतुर्दशीसँग जोडिएको कथा
बालाचतुर्दशीसँग जोडिएको अर्को एउटा कथा पनि छ। कथाअनुसार उहिले पशुपतिको मुर्दाघाटमा बस्ने ‘बालानन्द’ नामका एक मानिस खाजा खान लाग्दा त्यसै बखत पोलिएको शवको टाउको फुट्न गई उछिट्टिएको गिदी उनको च्युरामा परेको थियो। सो गिदीसँगै चिउरा खाँदा झन् मीठो भएकाले त्यसै बेलादेखि उनी मुर्दाको गिदी खान पल्किए।
त्यसपछि मानिसको गिदी खाने तथा लामालामा दाह्री, जुँगा र कपालले गर्दा मानिस डराई उसलाई बालासुर राक्षस भन्न थालेको र त्यसै बखत उसको राम्रो परिचय पाएका एकजना थकाली बूढाको सल्लाहअनुसार स्थानीय बासिन्दाले बालासुरको मित वृषसिंहमार्पmत उसलाई मार्न लगाएको कथा पनि प्रचलित छ।
आफ्ना मितको हत्याबाट छट्पटाएका वृषसिंहलाई एक रात सपनामा भगवान् शिवजीले दर्शन दिई शतबीज छर्ने आज्ञा दिएका थिए। मार्गकृष्ण चतुर्दशीका दिन श्लेषमान्तक वनको वरिपरि शतबीज छर्दा बालासुर वैतरणी तरेर गएकाले त्यसै बेलादेखि यस दिनलाई बालाचतुर्दशी भनी दिवंगत आत्माको शान्तिका लागि शतबीज छर्ने गरिएको हो।
मातापिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रुपमा दीपदान एवं शतबीज रोपण गर्न नहुने धर्मशास्त्रविद् गौतमले बताए। धर्मसिन्धु नामक ग्रन्थमा बरखी बारेकाले शिवको पूजाआजा त परको कुरा, नामसमेत लिन नहुने उल्लेख छ।
यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पनि पूजा गर्नुपर्ने शास्त्रीय वचन रहेको विभिन्न ग्रन्थमा उल्लेख छ।