काठमाडौं। एमाले नेता शंकर पोखरेल र महेश बस्नेत बाराको कलैयामा जाने घोषणा भएसँगै एमाले कार्यकर्ता र जेनजीबीच झडप भएपछि स्थिति नियन्त्रणमा लिन प्रमुख जिल्ला अधिकारी धमेन्द्रकुमार मिश्रले कर्फ्यु आदेश जारी गरेका छन्।
बाराको सिमरा विमानस्थल क्षेत्रमा जेनजी पुस्ताका युवाहरू र नेकपा एमाले समर्थित युवाबीच झडप भएको छ। एमाले महासचिव शंकर पोखरेललगायत नेताहरू सिमरा विमानस्थल हुँदै बाराको परवानीपुरमा हुने कार्यक्रममा जाँदै थिए।एमाले निकट युवा संघको जागरण सभामा भाग लिन जाने सूचना पाएपछि जेनजी युवा विराेधमा उत्रिएसँगै एमाले कार्यकर्ताबीच झडप भएकाे हुँदा सिमरा विमानस्थल तनावग्रस्त बनेकाे हाे।
अवस्था नियन्त्रण बाहिर जान नदिन बाराका प्रजिअ मिश्रले सिमरा विमानस्थल आसपास क्षेत्रमा जेनजी युवाको प्रदर्शन तथा राजनीतिक दल आवद्व समूहको झडप भइरहेकोले सरकारी सम्पत्ति, पदाधिकारी, कर्मचारी, सरकारी कार्यालय लगायत निजी सम्पत्ति क्षति हुन नदिन कर्फ्यु आदेश जारी गरिएकाे सूचना प्रकाशित गरेका हुन्।
दिउँसो १२ः३० बजे देखि बेलुका ८ः०० बजेसम्म स्थानीय प्रशासन ऐन, २०२८ बमोजिम बाराको जीतपुरसिमरा उपमहानगरभित्र आवतजावत गर्न, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कर्फ्यु आदेश जारी गरिएकाे हाे।
गण्डक नहरदेखि पथलैया सडक खण्ड राजमार्गको दायाँ–बायाँ ५०० मिटरसम्म, सिमरा विमानस्थलको वरिपरि ५०० मिटर सम्म कर्फ्यु आदेश जारी गरिएकाे सूचनामा उल्लेख छ।
कर्फ्यु आदेश अवधिभर अत्यावश्यक सेवाका सवारी साधन, एम्बुलेन्स, दमकल, शव वाहन, स्वास्थ्यकर्मीका सवारी साधन, सञ्चारकर्मी, पर्यटक सवारी साधन, मानव अधिकार तथा कूटनीतिक नियोगका सवारी साधन र हवाई टिकटको आधारमा हवाई यात्रुको आवगमनमा सुरक्षाकर्मीबाट सहजीकरण हुने सूचनामा उल्लेख छ।
