काठमाडौं। नेपाल सरकार र अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)ले नेपालका लागि एमसीसी कम्प्याक्टमा अतिरिक्त ५० मिलियन अमेरिकी डलर (करिब ७ अर्ब रुपैयाँ) अनुदान थप गर्ने घोषणा गरेका छन्।
नयाँ प्रतिबद्धतासँगै परियोजनाको कुल लागत ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात करिब १ खर्ब ६ अर्ब रुपैयाँ पुगेको छ। यसमा अमेरिकाबाट कुल ५५ करोड अमेरिकी डलर र नेपाल सरकारबाट १९ करोड ७० लाख डलर रहने छ।
अतिरिक्त सहयोगले प्राथमिकता प्राप्त विद्युत् प्रसारण लाइन निर्माण, ऊर्जा प्रणाली सुदृढीकरण, तथा क्षेत्रीय ऊर्जा व्यापार विस्तार गर्ने एमसीसी कम्प्याक्टका मुख्य उद्देश्यहरूलाई तीव्रता दिने बताइएको छ।
परियोजनाबाट ऊर्जा ग्रिडको विश्वसनीयता वृद्धि हुने, बजार पहुँच सुधारिने र अन्तर्राष्ट्रिय ‘कनेक्टिभिटी’ मजबूत हुने अपेक्षा व्यक्त गरिएको छ। एमसीसीका अनुसार यसले अमेरिकी प्रविधि र कम्पनीहरूको नेपाली ऊर्जा क्षेत्रमा बजार प्रवेशको अवसर पनि बढाउने छ।
अमेरिका र नेपालबीचको दीर्घकालीन सहकार्यलाई यस अनुदानले थप मजबुत बनाएको उल्लेख गर्दै दुवै पक्षले आर्थिक वृद्धि, ऊर्जा सुरक्षा, र पारस्परिक समृद्धिका लक्ष्यहरूलाई अघि बढाउने प्रतिवद्धता दोहोर्याएका छन्।
एमसीसी कम्प्याक्ट ऋणरहित, पूर्णतया अनुदानमा आधारित उच्च प्रभावयुक्त पूर्वाधार विकास कार्यक्रम हो।