काठमाडाैं। आन्तरिक राजस्व कार्यालय तुलसीपुरले चालु आर्थिक वर्षको चार महिनामा ७२ करोड १६ लाख ३७ हजार राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिक मसान्तसम्ममा ८९ करोड ९१ लाख ६१ हजार राजस्व संकलनको लक्ष्य रहेकामा ७२ करोड १६ लाख ३७ हजार संकलन गरेको हो।
कार्यालयका कर अधिकृत उपेन्द्र पुन मगरका अनुसार राजस्व संकलन लक्ष्यको तुलनामा ८०.२५ प्रतिशत संकलन भएको हो। गत वर्षको सोही अवधिमा कार्यालयले ७० करोड ३८ लाख ५८ हजार राजस्व संकलन गरेको थियो।
यस वर्षको चार महिनामा लक्ष्यअनुसार राजस्व संकलन हुन नसक्नुमा आयकरतर्फ उल्लेख्य संख्यामा करदाताबाट विवरण पेस गर्न बाँकी हुनु, जेनजी आन्दोलनका कारण कार्यालयमा क्षति भएपछि सेवा प्रभावित हुनु, मालपोत कार्यालयमा पनि क्षति भई पुँजीगत लाभकरमा उल्लेख्य कमी आउनुलगायत कारण रहेका प्रमुख कर अधिकृत श्रीधर टण्डनले जानकारी दिए।
उनका अनुसार पुँजीगत खर्चमा आएको न्यूनतम, ब्याजदर घट्न गई ब्याज कर घट्नु, आन्दोलनबाट यस कार्यालयमा क्षति पुगेपछि सेवाको पुनःस्थापना तथा कार्यालय व्यवस्थापनमा केन्द्रित हुनुपरेकाले राजस्व संकलनसम्बन्धी प्रवर्द्धनात्मक तथा निरोधात्मक क्रियाकलापमा तीव्रता दिन नसकिनुलगायत कारण रहेका छन्।
गत आव २०८१/८२ मा तीन अर्ब १४ करोड ८६ लाख राजस्व संकलनको लक्ष्य रहेकामा दुई अर्ब ९४ करोड २४ लाख संकलन भएको कार्यालयले जनाएको छ। यो आव २०८०/८१ को तुलनामा ५४ करोड ६० लाख बढी हो।
चालु आवको बाँकी अवधिमा सरोकार भएका निकायसँग समन्वय गरी प्रभावकारी करदाता शिक्षामार्फत स्वेच्छिक कर सहभागिता अभिवृद्धि, आर्थिक ऐन, २०८२ ले प्रदान गरेका छुट सुविधाको प्रचारप्रसार, राजस्व चुहावट तथा कर छलीको नियन्त्रण, बक्यौता कर असुलीलगायत क्रियाकलापलाई जोड दिँदै कार्यालयको वार्षिक राजस्व संकलनको लक्ष्य हासिल गर्न प्रतिबद्ध रहेको प्रमुख कर अधिकृत टण्डनले जानकारी दिए।