काठमाडौं। निर्माणाधीन नारायणघाट-बुटवल सडक खण्डको नारायणी पुलको गैँडाकोटतर्फको एप्रोच सडकमा कालोपत्रे गर्ने भएकाले दैनिक पाँच घण्टा सवारी साधन आवतजावत गर्न बन्द गरिएको छ।
यही ५ र ६ गते रातिको ११ बजेदेखि बिहान ४ बजेसम्म चितवन र नवलपरासी (बर्दघाट सुस्ता पूर्व) जोड्ने नारायणी पुलमा सवारी साधन चलाउन बन्द गरिएको सडक विभागले जनाएको हो।
यसका लागि बुटवलतर्फबाट नारायणघाटतर्फ छिर्ने बस, मिनिबस, माइक्रो, साना चार पांग्रे जस्ता यात्रुवाहक सवारी साधन युम्सीदेखि भेडाबारीसम्म रोक्ने व्यवस्था गरिएको छ। यस्तै, ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारी साधन बेल्डिहादेखि प्रगतिनगरसम्म राख्न सकिने छ।
यसैगरी, नारायणघाटतर्फबाट बुटवलतर्फ जाने बस, मिनिबस, माइक्रोबस, साना चार पाङ्ग्रे जस्ता यात्रुवाहक सवारी साधन मुग्लिङदेखि नारायणघाट सडकको रामनगर हुँदै जुगेडी र पूर्व पश्चिम राजमार्गको केन्द्रिय बसपार्कदेखि गोन्द्राङ्गसम्म राख्न सकिने छ।
सोही मार्ग भएर जाने ट्रक, ट्रेलर, कन्टेनर, लहरी जस्ता मालवाहक सवारी साधन मुग्लिङ-नारायणघाट सडकको जुगेडीदेखि दासढुंगा र पूर्व पश्चिम राजमार्गको गोन्द्राङदेखि टिकौलीसम्म राख्न सकिने विभागले जनाएको छ।