काठमाडाैं। म्याग्दीको मंगला गाउँपालिकाले बालविकास केन्द्रमा अध्ययन गर्ने बालबालिकाहरुलाई विद्यालयमा दूध वितरण गर्न थालेको छ। बालविकास केन्द्रका बालबालिकालाई दूध वितरण गर्ने कार्यक्रमलाई मंगला गाउँपालिकाले नमुना घोषणा गरेको छ।
‘बालबालिकासँग अध्यक्ष’ कार्यक्रमअन्तर्गत बालविकास केन्द्रका बालबालिकालाई दैनिक एक/एक गिलास दूध वितरण गरिएको गाउँपालिकाका शिक्षा अधिकृत गणेशबहादुर कटुवालले जानकारी दिए।
मंगला गाउँपालिकाका पाँच वटा वडामा ४५ वटा बालविकास केन्द्रमा यस वर्ष तीन सय ७७ जना बालवालिका छन्। दिवा खाजासँगै दूध वितरण गर्न गाउँपालिकाले प्रति विद्यार्थी रु. १५ का दरले अनुदान उपलब्ध गराउँछ। उक्त कार्यक्रमका लागि चालु आर्थिक वर्ष २०८२/०८३ मा ११ लाख ५० हजार बजेट विनियोजन गरेको छ।
४४ वटा बालविकास केन्द्र संघीय सरकारबाट अनुमति पाएका हुन्। एक वटा बालविकास केन्द्र गाउँपालिकाले सञ्चालन गरेको छ। तल्लो तहबाटै बालबालिकालाई सामुदायिक विद्यालयमा आकर्षित गर्ने, पोषण अवस्थामा सुधार गर्ने र बालबालिकको विद्यालयमा टिकाउ दर बढाउन गत आर्थिक वर्षदेखि शुरु गरेको दूध वितरण गर्ने कार्यक्रम प्रभावकारी बनेको गाउँपालिकाका अध्यक्ष सतप्रसाद रोकाले बताए।
बहुक्षेत्रीय पोषणको अवधारणा अनुसार शिक्षा, स्वास्थ्य र कृषि क्षेत्रसँग अन्तरसमन्वय हुने कार्यक्रम सञ्चालन गरेको उनले बताए। गत वर्ष यस कार्यक्रमबाट तीन सय ७३ जना बालबालिका लाभान्वित भएका थिए। विद्यालय र बालविकास केन्द्रले गाउँपालिकामा उपलब्ध गराउने विद्यार्थी भर्नाको विवरणको आधारमा खातामा बजेट पठाउने गरिएको छ।
विद्यालय र बालविकास केन्द्रले स्थानीय किसानसँग दूध किनेर बालबालिकालाई खुवाउने गरेका छन्। स्थानीय स्तरमै उत्पादन हुने दूधले बजार पाउनुका साथै गाईभैसी पाल्ने किसानलाई प्रोत्साहन मिलेको छ।