काठमाडौं। उपत्यकाको फोहाेर व्यवस्थापनका लागि स्थानीय प्रतिनिधि र सरकारबीच छलफल भइरहेको छ। बिहीबार स्थानीय प्रतिनिधिसँग ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङ मन्त्रालयमा वार्तामा बसेका छन्।
यता, बुधबारदेखि उपत्यकाबाट फोहोर बोकेर गएका गाडी बाटेमै रोकिएका छन्। बन्चरेडाँडाका स्थानीयको समस्या समाधान नगर्दा मंसिर ३ गतेदेखि फोहर बोक्ने गाडीहरूलाई ल्यान्डफिल साइटमा प्रवेश गर्न नदिने स्थानीयले घोषणा गरेअनुसार करिब २५० ट्रक रोकिएको छन्। फोहोर विसर्जनका लागि बन्चरेडाँडातर्फ जाँदै गरेका फोहोर बोकेका ट्रक बिहीबार पनि रोकिएका हुन्।
फोहरमैला व्यवस्थापन संघ नेपालका महासचिव मित्रप्रसाद घिमिरेका अनुसार, उपत्यकाबाट दैनिक लगभग १४ सय टन फोहोर उत्पादन हुन्छ। दुई दिनदेखि अवरोध हुँदा उपत्यकाभित्र घरघरमा करिब ४२ सय टन फोहोर थुप्रिसकेको छ। समस्या समाधानका लागि मन्त्रालयमा अहिले सहमति जुटाउने प्रयास भइरहेको जनाइएको छ।
‘बन्चरेडाँडा जान निस्केका गाडी दुई दिनदेखि रोकिएका छन्,’ उनले भने, ‘दिनहुँ १४ सय टन फोहोर उत्सर्जन हुने उपत्यकाको ४२०० टन फोहोर थुप्रिसक्यो। अहिले मन्त्रालयमा सहमतिका लागि छलफल चलिरहेको जानकारी पाएका छौँ।’
सरकार र स्थानीयबीच तत्काल सहमति हुन नसके उपत्यकाको वातावरण थप दुर्गन्धित हुने र जनस्वास्थ्यमा गम्भीर असर पर्ने देखिएको छ। खासगरी प्रभावित क्षेत्रका बासिन्दालाई जग्गा अधिकरण (मुआब्जा) दिने विषयमा सहमति जुट्न नसक्दा बन्चरेडाँडामै लाम लागेर फोहोरका गाडी रोकिएका हुन्।