धनगढी। पर्यटन फोटो पत्रकारिता तालिमको दोस्रो संस्करण आजदेखि सुरु भएको छ। नेपाल पर्यटन बोर्ड र संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (यूएनडीपी)को संयुक्त पहलमा सो तालिम सञ्चालन भएको हो।
पर्यटन प्रवद्र्धन, दृश्य अभिलेखन, ब्रान्ड प्रमोशन तथा स्थानीय समुदायको पर्यटन सहभागिता वृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको उक्त तालिममा सुदूरपश्चिमका ९ वटै जिल्लाका ३५ पत्रकार सहभागी छन्।
उद्घाटन सत्रमा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेशका अध्यक्ष भरत शाहले तालिमका माध्यमबाट प्रदेशको पर्यटन अभियानलाई सुदृढ बनाउन मद्दत पुग्ने बताए।
नेपाल पत्रकार महासङ्घ कैलालीका अध्यक्ष श्रवण देउवाले पत्रकारको क्षमतावृद्धि र गुणस्तरीय सामग्री उत्पादन गर्न यस्ता तालिम आवश्यक भएको बताए।
राष्ट्रिय फोटो पत्रकार समूह, नेपालका अध्यक्ष प्रदीपराज वन्तले फोटो पत्रकारिता पर्यटन प्रवर्द्धनको आधारभूत साधन भएको उल्लेख गरे।
तालिमको पहिलो सत्रमा नेपाल पर्यटन बोर्डका सञ्चार परामर्शदाता दिलिपप्रकाश कार्कीले पर्यटन पत्रकारिताको आधारभूत प्रक्रिया र सञ्चार रणनीतिबारे प्रशिक्षण दिएका थिए।
फोटो पत्रकार तथा प्रशिक्षक सुनिल चुडा बज्राचार्य, प्रकाशचन्द्र तिमिल्सेना र प्रदीपराज वन्तले फोटो पत्रकारिताको विकासक्रम, फ्रेम निर्माण, तस्विर कथा निर्माण, प्रकाश-छायाँको व्यवस्थापनलगायत विषयमा सैद्धान्तिक तथा व्यावहारिक प्रशिक्षण सञ्चालन गर्ने छन्। कार्यक्रमको सहजीकरण एनएफपीजेका कोषाध्यक्ष प्रदीप श्रेष्ठले गरेका थिए।
दिगो पर्यटन परियोजना (एसटीपी)ले राष्ट्रिय फोटो पत्रकार समूह नेपाल (एनएफपीजे) र नेपाल पत्रकार महासङ्घ कैलालीसँगको सहकार्यमा तीनदिने तालिम सञ्चालन गरेको हो।