काठमाडौं। ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र सहरी विकासमन्त्री कुलमान घिसिङले हुलाकी राजमार्गअन्तर्गत सिरहा र धनुषा जोड्ने कमला नदीमा निर्माणाधीन पुलको स्थलगत अनुगमन गरेका छन्।
मन्त्री घिसिङ, युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ता, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव केशवकुमार शर्मा, सडक विभागका महानिर्देशक विजय जैशीलगायत सम्मिलित टोलीले शुक्रबार कमला पुलको अनुगमन गरेको हो।
ठेक्का सम्झौता भएको करिब १४ वर्ष पुग्दासमेत पुल निर्माण हुन नसकेको, पुल नबन्दा नागरिकले सास्ती खेप्नुपरेको, सवारीसाधन लामो रुट प्रयोग गरी आवत–जावत गर्न बाध्य भएकोजस्ता गुनासो आएपछि मन्त्री घिसिङले समस्या समाधानका लागि पुल निर्माणको अनुगमन गरेका हुन्।
तराई÷मधेसको लाइफ लाइनका रूपमा रहेको हुलाकी राजमार्गमा पर्ने कमला पुल निर्माणका लागि २०६८ जेठमा २४ करोड ९१ लाख (भ्याटसहित)मा पप्पु लुम्बिनी जेभीसँग ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौताबमोजिम पुल निर्माण २०७१ मंसिरमा सम्पन्न हुनुपर्ने थियो। तोकिएको समयमा पुल निर्माण हुन नसकेपछि आठौं पठक थपिएको ठेक्का सम्झौताको म्याद गत असारमा सकिएको थियो।
निर्माण व्यवसायीबाट आगामी असारसम्म म्याद थपका लागि प्रस्ताव पेस भएको छ। हाल ठेक्काको म्याद थपको प्रक्रियामा छ। पुल निर्माणमा भईरहेको ढिलाइका सम्बन्धमा मन्त्री घिसिङले पुल समग्र मधेस क्षेत्रको विकासका लागि अत्यन्तै महत्त्वपूर्ण रहेकोले तीव्र गतिमा निर्माण अगाडि बढाइने प्रतिबद्धता जनाए। उनले यो पुल बन्छ, हामी बनाउँछौं भन्दै विगतमा पुल निर्माणमा भएका अनियमितताको सम्बन्धमा सम्बन्धित निकायले छानविन गरिरहेकामा दोषी देखिएकालाई कानुनबमोजिम कारबाही गरिनेसमेत बताए।
अनुगमनकै क्रममा मन्त्री घिसिङ वारि धनुषाबाट डुंगा चढेर पारि सिरहा पुगेका थिए, जहाँ युवा तथा खेलकुदमन्त्री बब्लु गुप्तासँग भेट गरी संयुक्त रुपमा पुल निर्माणको निरीक्षण गरे।
हालसम्म २० करोड ४३ लाख (भ्याट) सहित भुक्तानी भइसकेको छ। पुल निर्माणको भौतिक प्रगति र वित्तीय प्रगति क्रमशः ८३ र ८२ प्रतिशत छ। १२ वटा स्पान भएको पुलको लम्बाइ ४६९ मिटर रहेको छ। निर्माण व्यवयासीले नै पुलको डिजाइन गरी निर्माण गर्ने मोडलमा ठेक्का सम्झौता भएको थियो। पुल निर्माणसँगै नदीको दुवै किनारतर्फ १३०० मिटर नदी नियन्त्रण र २०० मि. पहुँच सडक निर्माण गर्नुपर्नेछ।
२०७८ असार १७ मा कमला नदीमा आएको बाढीले पुलको दुईवटा जग भासिएर ४ वटा स्लाबमा क्षति पुगेको थियो। क्षति पुगेका स्लाबमध्ये २ वटा हटाइएको छ भने २ वटा हटाउन बाँकी छन्। विज्ञबाट उक्त क्षेत्रको माटो परीक्षण गरी परिमार्जित डिजाइन तथा डओइ तयार गरी स्वीकृत गरिएको छ।
४ वटा स्लाबमध्ये सिरहापटिको २ वटा हटाउने तथा एउटाको पायरको पायल क्याप र अर्कोको पायरको २ मिटर स्टिम ढलान भई बाँकी २ वटा स्पानलाई दह्रो बनाउने काम बाँकी छ।