काठमाडौं। भैरहवास्थित आन्तरिक राजस्व कार्यालयले आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा लक्ष्यभन्दा बढी राजस्व संकलन गरेको छ। कार्यालयले साउनदेखि कात्तिकसम्ममा लक्ष्यभन्दा एक अर्ब १५ करोड ७८ लाख ५१ हजार बढी राजस्व संकलन गरेको हो।
आन्तरिक राजस्व कार्यालयका प्रमुख कर अधिकृत प्रेमराज पोख्रेलका अनुसार साउनदेखि कात्तिकसम्म प्रत्येक महिना राजस्वको लक्ष्य प्राप्ति भएको छ। चार महिनामा आन्तरिक राजस्व विभागले दिएको लक्ष्यभन्दा बढी संकलन गर्न सफल भएका उनले बताए।
चार महिनामा चार अर्ब २३ करोड ६८ लाख १४ हजार राजस्व सङ्कलनको लक्ष्य पाएको यो कार्यालयले पाँच अर्ब ३९ करोड ४६ लाख ६५ हजार संकलन गर्न सफल भएको छ। यो लक्ष्यको २७ दशमलव तीन प्रतिशतले बढी र लक्ष्यको १२७ दशमलव तीन प्रतिशत संकलन भएको प्रमुख कर अधिकृत पोख्रेलले जानकारी दिए।
“गत आवको तुलनामा राजस्व संकलन ५१ दशमलव पाँच प्रतिशतले वृद्धि भएको छ। चारै महिना हामीले लक्ष्य हासिल गरेका छौँ”, उनले भने। राजस्व सङ्कलनको जम्मा लक्ष्यमा अन्तःशुल्कको ठूलो हिस्सा अर्थात् ८२ दशमलव छ प्रतिशत रहेको उनले जानकारी दिए।
“मूल्य अभिवृद्धि कर, आयकर पनि राम्रै असुली भएको छ। तर ठूलो हिस्सा अन्तःशुल्कको देखिन्छ”, कर अधिकृत पोख्रेलले भने।
आव २०८१/८२ मा कार्यालयले साउनदेखि कात्तिकसम्म रु तीन अर्ब ५६ करोड दुई लाख ६१ हजार संकलन गरेको थियो। राजस्व असुलीमा एकदमै राम्रो र उत्कृष्ट कार्यसम्पादन गर्न सफल भएको छ। कार्यालयअन्तर्गतका उद्योगी–व्यवसायी र कर प्रशासनको संयुक्त ‘टिमवर्क’बाट नै यो सम्भव भएको प्रमुख कर अधिकृत पोख्रेलले बताए। आन्तरिक राजस्व कार्यालय भैरहवाअन्तर्गत ६४ हजारभन्दा बढी करदाता छन्।