काठमाडाैं। ‘बन्दीपुरको हावापानी र संस्कृति लोभलाग्दो रहेछ, पहिलोपटक आएकी मलाई बन्दीपुरले लोभ्यायो,’ चितवनकी दीपा थापा मगरले भनिन्। बन्दीपुरका पुराना घरहरु, स्थानीयवासीको सम्मानसहित बोल्ने परम्परा झनै राम्रो पक्ष रहेको उनको भनाइ छ।
दोस्रो पटक बन्दीपुर आएकी चितवनकै प्रतिभा निउरे सापकोटाले पनि पुराना घरहरुले आकर्षण थपेको बताइन्। उनले भनिन्,‘भक्तपुरे शैलीका घरहरु बन्दीपुरको आकर्षण हो।’
मुस्ताङ भ्रमण गरेर बन्दीपुर आइपुगेका काठमाडौंका प्रदीप जंगले बन्दीपुर अन्य गन्तव्यभन्दा फरक लागेको बताए। बन्दीपुरको बजार राम्रो लागेको बताउँदै उनले थपे ‘यसरी पुरानो घरहरु एकैठाउँमा देखेको थिइँन, नौलो लाग्यो।‘
बन्दीपुर होटल व्यवसायी संघका उपाध्यक्ष सुजन श्रेष्ठले जेनजी आन्दोलनपश्चात् बन्दीपुरको पर्यटन लयमा फर्किएको बताए। पहिले शुक्रबार र शनिबारमात्रै पर्यटकको चाप हुने गरेपनि अहिले दैनिकजसो पर्यटकको चाप रहेको उनले बताए। उनले भने, ‘यो बेला भनेको विदेशी पर्यटक आउने बेला पनि हो । स्वदेशी पर्यटकको पनि उत्तिकै चहलपहल छ।’
बन्दीपुर पर्यटन विकास समितिका अध्यक्ष किसान प्रधानले बन्दीपुरमा दैनिक एक हजारको हाराहारीमा पर्यटक आउने गरेको र त्यसमध्ये दुई/तीन सयले बास बस्ने गरेको जानकारी दिए। उनका अनुसार बन्दीपुरमा ६६ होटल रहेको र एकदिनमा चार हजार बास बस्न सक्ने क्षमता छ।
प्रधानले जेनजी आन्दोलनका क्रममा बुकिङ गरिसकेका पर्यटकले पनि बुकिङ रद्द गरेको बताउँदै थपे, ‘अहिले भने विदेशी भन्दा स्वदेशी पर्यटकको चाप बढेको छ। नेपाली पर्यटक दिनभर बन्दीपुरमा घुम्ने, रमाउने र फर्किने गरेका छन्। केहीले भने बन्दीपुरमै रात बिताउने गरेका छन्।’