बागलुङ। थपेको म्याद सकिनै लाग्दा कालीगण्डकी करिडोरको बागलुङस्थित मालढुङ्गा-बलेवा खण्डले गति लिएको छ। अहिले बलेवा विमानस्थलबाट कालोपत्रका लागि आवश्यक पूर्वतयारी थालिएको छ।
राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको कालीगण्डकी करिडोरको बलेवा-मालढुङ्गा खण्डले तीन वर्षमा जम्मा ६५ प्रतिशत प्रगति हासिल गरेको छ।
दुई वर्षमा सक्नेगरी खड्का कृष्ण बिएन जेभीसँग सम्झौता गरेको कालीगण्डकी करिडोर आयोजना कार्यालय पाल्पाले काम नसकिएको भन्दै एक वर्ष म्याद थपेको थियो। थपेको म्यादसमेत यही २०८२ मङ्सिर मसान्तमा सकिँदै छ।
सम्झौता अवधि सकिनै लाग्दा निर्माण व्यवसायीले भने द्रुतगतिमा काम अघि बढाएको छ। निर्माण कम्पनीलाई पटकपटक ताकेदा गरेको र कामको प्रगति नभए कारबाहीमा लैजाने भनेपछि कामले गति लिएको कालीगण्डकी करिडोर आयोजना कार्यालयले जनाएको छ।
दुई वर्षमा सक्नेगरी सम्झौता भए पनि तीन वर्षमा ६५ प्रतिशत प्रगति भएको र कालोपत्र सकिएमा एकै पटक धेरै प्रगति देखिने आयोजनाका इञ्जिनियर पिपुल गौतमले जानकारी दिए।
गौतमले बलेवा-हर्मिचौरको ४४ किलोमिटर सडक सम्झौताअगावै काम सम्पन्न भइसकेको छ भने छोटो खण्डको रुपमा रहेको बलेवा-मालढुङ्गा सडकको १० किमि सडकको भने थपिएको म्याद सकिनै लाग्दा बल्ल कामले तीव्रता पाएको छ।
गौतमका अनुसार १० किलोमिटर दूरी रहेको उक्त खण्डका लागि रु ५५ करोडमा निर्माण कम्पनीले ठेक्का लिएको थियो। सम्झौताअनुसार दुई वर्षमा मालढुङ्गा-बलेवा खण्ड कालोपत्र गरिसक्नुपर्नेमा दुई वर्षमा आधासमेत काम भएको थिएन।
पूर्वाधारको काम अन्तिम चरणमा पुगेकाले कालोपत्रका लागि समय नलाग्ने निर्माण व्यवसायीका प्रतिनिधि दिनबन्धु काफ्लेले जानकारी दिए।
विं.सं. २०७९ मंसिरमा ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले भुक्तानी समस्या तथा कच्चा सामग्रीको अभाव देखाउँदै काममा ढिलाइ भएको जनाएको छ।